काठमाडौ\ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पहिलो पटक गर्न लागेको विधान अधिवेशनमा एक हजार तीन सय प्रतिनिधि सहभागी हुने भएका छन् । आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौँको प्रज्ञा भवनमा आयोजना हुने अधिवेशनमा देशैभरबाट आएका प्रतिनिधिमार्फत बहस र छलफल गरेर विधान बनाइने छ ।
पार्टीलाई चुस्तदुरुस्त बनाउन ठुलो सङ्ख्यामा प्रतिनिधि राखेर बहस गरी विधान टुङ्गो लगाउन लागिएको पार्टीले जनाएको छ । पार्टीका कोषाध्यक्ष श्रीराम ढकालका अनुसार विधान अधिवेशनको पहिलो दिन आगामी फागुन १ गते उद्घाटन हुने छ भने फागुन २ र ३ गते विधानकेन्द्रित छलफल हुने भएको छ ।
विधान अधिवेशनमा पार्टी केन्द्रीय सदस्य ४०९ जनासहित ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार, केन्द्रीय विभाग, तीन केन्द्रीय आयोग, प्रदेश पदाधिकारी, ७७ जिल्ला संयोजक र जनवर्गीय सङ्गठनका प्रमुख बैठकमा सहभागी हुने छन् । बैठकमा आउने प्रतिनिधिसँग एक हजार रुपियाँ उठाइने छ ।
पार्टी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा तयार भएको विधान मस्यौदामा केन्द्रित भई माघ २४ गतेसम्म सुझाव दिन निर्देशन दिएको छ । पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई लागेका सुझाव इमेल र प्रत्यक्ष उपस्थित भई पार्टी कार्यालयमा दिन सक्ने भएका छन् ।
पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले विधान मस्यौदामा केन्द्रित भई सबै सुझाव आएपछि माघ २६ गतेदेखि स्थायी समिति बैठक बसेर छलफल हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्