उद्योगको अवस्था तीन वर्षयतादेखि दिनप्रतिदिन खस्किँदै गएको, लगानी अनुसार प्रतिफल प्राप्त नहुँदा नोक्सानी बढ्दै गएको विडारीको भनाइ थियो । कोरोना महामारीका साथै अन्य विभिन्न कारणले भएको आर्थिक तथा व्यावसायिक मन्दीले उद्योग र व्यवसायको अवस्थामाथि उठ्न नसकेको उनले बताए।
यसैबीच, उद्योगको आर्थिक अवस्था कमजोर हुँदै गएकाले भाडा दिनमासमेत समस्या भइरहेको उद्योगीको गुनासो छ । यहाँ सञ्चालित उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, बिक्री नहुनु, बजार व्यवस्थापनमा समस्या, आर्थिक मन्दिलगायत कारणले कमजोर बन्दै गएका उद्योग वाणिज्य सङ्घ हेटौँडाका पदाधिकारीको भनाइ छ ।
‘अहिले बजारको अवस्था कमजोर बन्दै गएको छ । पसल र सटर खाली हुँदै गएका छन् । उद्योगबाट उत्पादित सामान बिक्री हुँदैनन् । उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको छ । थप लगानीका लागि बैंकले ऋण दिदैँनन्’, हेटौँडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भने।
यस क्षेत्रमा निर्माणसम्बन्धी सामग्री उद्योग पाँच, प्लास्टिक सामग्रीसम्बन्धी २८, विद्युतीय सामग्रीसम्बन्धी तीन, खाद्यन्न तथा पेय पदार्थका ११, फर्निचरका छ, इञ्जिनियरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकलतर्फ ११, पोल्ट्री तथा दाना उद्योगतर्फ दुई, टेक्सटायल उद्योतर्फ एक, खानीजन्यतर्फ तीन र अन्यमा १० वटा उद्योग सञ्चालित छन् । उक्त औद्योगिक क्षेत्रभित्र सरकारी र गैरसरकारी कार्यालय तथा विभिन्न सङ्घसंस्थातर्फ ११ कार्यालय रहेका छन् । यस औद्योगिक क्षेत्रको विसं २०२० मङ्सिर २० गते स्थापना भएको थियो । औद्योगिक क्षेत्रको तीन हजार दुई सय २८ रोपनी जग्गा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्