Ads

फेरि चल्न सक्ला त हेटौंडा कपडा उद्योग ?


काठमाडौ\ लामो समय देखि बन्द भएका उद्योग पुनः सञ्चालनको बहस शुरु भएको छ । यि उद्योग कसले सञ्चालन गर्ने भन्ने बारेमा समेत अनौपचारीक छलफल शुरु भएको छ ।
यसरी लामो समय देखि बन्द मध्ये औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड बन्द भएको दुई दशकभन्दा बढी भयो ।

पछिल्लो समय नेपाली सेनाले बन्द भएर खण्डहर अवस्थामा पुगेको सो उद्योग सञ्चालनमा चासो देखाएको छ । चीन सरकारको सहयोगमा निर्माण भएको कपडा उद्योग पुनः सञ्चालनमा सेनाले चासो देखाउँदै सरोकारवालासँगको छलफललाई तीव्र बनाएसँगै सरकारले पनि बन्द अवस्थामा रहेको कपडा उद्योग सञ्चालनका लागि तयारी थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक पटक सञ्चालनको तयारी थालेर पुनः रोकिएको कपडा उद्योग पुनः सञ्चालनका लागि प्रारूप तयार गर्न निर्देशन दिएका छन् । कपडा उद्योगसँगै बन्द भएका गोरखकाली रबर उद्योगलगायतका उद्योग पुनः सञ्चालनको तयारी थालिएको हो ।

विगतमा उद्योगभित्र अनियमिततालगायत आन्तरिक समस्यासँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि २०५७ फागुन १ गतेबाट तत्कालीन सरकारले उद्योगमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीको दायित्व भुक्तानी गर्दै उद्योग बन्द गर्ने निर्णयमा पुगेको थियो ।

बन्द भएको सुती कपडा उत्पादन गर्ने उद्योग पटक पटक खारेजीसँगै पुनः सञ्चालनको निर्णयसहित सरकारको प्राथमिकता पर्दै आए पनि सरकारको प्रयास असफल हुँदै आएको छ । पछिल्लो समय सेनाले उद्योग सञ्चालनका बारेमा सम्भाव्यता अध्ययनलाई तीव्र बनाएको छ ।

गत जेठमा सेनाका उपरथी भोलानाथ बुढाथोकीसहितको टोलीले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक र उद्योगका तत्कालीन कर्मचारीसँग उद्योगको अवस्था, भौतिक संरचना, यथास्थितिमा सञ्चालन हुन सक्ने नसक्ने बारेमा जानकारी लिएको छ ।

कपडा उद्योग सञ्चालनको तयारीमा रहेको सेनाले आफैँभित्रबाट कन्सल्टेन्टसमेत नियुक्त गरी आवश्यक सुझाव र प्रतिवेदन तयारीमा लागेको छ ।

कुनै समय नाफा गएर कर्मचारी कामदारलाई बोनस बाँड्ने अवस्थामा पुगेको उद्योग उत्पादन सुरु गरेको २२ वर्षपछि आन्तरिक समस्या र प्रतिस्पर्धामा टिक्न नसकेर बन्द भएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको समयमा आठ करोड रुपियाँभन्दा बढी विनियोजन गरी मर्मतका लागि केही बजेट खर्च गरिएको थियो । तर उद्योग सञ्चालनमा आउन सकेन र मर्मत गरेको उद्योग पनि सञ्चालन नगरेर खारेज गरियो ।

त्यसपछि पनि खारेजीको निर्णय उल्ट्यार सरकारको उद्योग सञ्चालन गर्न भन्दै नीति तथा कार्यक्रमसँगै बजेटमा प्राथमिकतामा राख्दै आए पनि उद्योग सञ्चालनमा आउन सकेको छैन । कतिपयको भने कपडा उद्योग सञ्चालन पछिल्लो समय चुनावमा राजनीतिक मुद्दा बन्दै आएको छ । उद्योग भने अझ दुरवस्थामा पुग्दै खण्डहरमा परिणत भएको छ ।

कपडा उद्योग परिसरमा हाल सशस्त्र प्रहरी बलको गण बस्दै आएको छ । पछिल्लो छलफलपछि उद्योग यथास्थितिमा चल्ने, नचल्ने वा पुनर्संरचना गर्ने बारेमा सेनाका प्राविधिकबाट थप अध्ययन गरिरहेको बताउँदै बन्द उद्योगका तत्कालीन कर्मचारी शुक्लले सेनाका अधिकारीसँग भएको संवाद अनुसार फागुनको मध्य तिर जिम्मेवारी लिएर चलाउने तयारीमा रहेको आफूले बुझेको बताउनुभयो । सेनाले अध्ययन गरी कुन मोडलमा सञ्चालनमा ल्याउने भन्ने बारेमा अहिले निर्णय भने भइसकेको छैन ।

कपडा उद्योग खारेजीसँगै सरकारले उद्योगको नाममा रहेको २० बिघा जग्गा हेटौँडा औद्योगिक क्षेत्रलाई दिएपछि उक्त जग्गा औद्योगिक क्षेत्रले भाडामा लगाएको छ । बन्द अवस्थाको कपडा उद्योगको हालको संरचना रहेको जग्गाको क्षेत्रफल १६५ रोपनी रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू