Ads

साढे १६ लाख स्मार्ट कार्ड खरिद टेण्टर रद्द


काठमाडौँ \ यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान रद्द गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार टेण्डर आह्वान चाररपाँच दिन अघि नै रद्द गरिएको हो।

साढे १६ लाख स्मार्ट कार्ड खरिदको लागि गरेको बोलपत्रमा मिलेमतो भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन थालेको अवस्थामा बोलपत्र आह्वान रद्द गरिएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक रिजालले मिलेमतो भएर टेण्डर रद्द नगरिएको दावि गरेका छन् । टेण्डर परेका कम्पनीले पेश गरेका कागजपत्र पूर्ण नभएकले टेण्डर रद्द गरिएको उनको भनाई छ।

मूल्याङकन समितले दिएको प्रतिवेदनका आधारमा ठेक्का रद्द गरिएको उनले बताए। दुई कम्पनीले मात्र टेण्डर भरेका थिए। दुई कम्पनीको नै कागजपत्र अपुग भएको पाइएकाले टेण्डर रद्द गरिएको जनाईएको छ । अब फेरि अर्को टेण्डर कहिले खुलाउने यकिन छैन ।

ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएकाले प्रतिस्पर्धालाई सीमित पारी अन्य आवेदकले फारमसमेत भर्न नपाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

सोही उजुरीका विषयमा छानबिन गरी जानकारी गराउन अख्तियारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उजुरीसहित पत्राचार गरेको थियो। त्यसपछि मन्त्रालयले उपसचिव विनोद खड्काको संयोजकत्वमा इन्जिनियर दिनेश अधिकारी र लेखा अधिकृत फिरोज आलमसहितको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

Ads

सम्बन्धित पोष्टहरू