काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी जग्गा हडप्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा धारणा राख्दै उनले आर्थिक शक्ति वा राजनीतिक पहुँचका आधारमा कसैलाई छुट दिन नहुनेमा जोड दिएका हुन्।
‘जोसुकै होस्, जति शक्तिशाली होस्। राजनीतिक शक्ति होस् वा आर्थिक शक्ति होस्। सार्वजनिक जग्गा कसैले हडप्छ भने कारबाही हुनैपर्छ। नागरिकतामा कसैले किर्ते गर्छ भने उसलाई माफी दिएर चल्दैन’, उनले भने, ‘आज नागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीधन्दा कसैले चलाउँछ भने कारबाही गर्नुपर्दैन?’
सरकारले यी सबैलाई दण्डित कारबाही दायरामा ल्याए एउटा विश्वासको वातारण बन्ने महामन्त्री थापाले बताए। उनले सुशासनका निम्ति सरकारले काम गरेँ भनेर मात्र नहुने भन्दै त्यो काम जनताले महसुस गराउने गरी हुनुपर्ने बताए।
प्रधानमन्त्रीबाट निर्देशन मात्रै धेरै भएको भन्दै महामन्त्री थापाले निर्देशनले मात्रै नचल्ने बताए। ‘निर्देशनले समस्याको समाधान हुँदैन। प्रधानमन्त्रीले दिएपछि मन्त्रीले पनि निर्देशन नै दिन्छ, अनि सचिवले पनि निर्देशन नै दिन्छ अनि कार्यान्वयन गर्ने कसले?’ उनले प्रश्न गरे।
थापाले निर्देशन दिएर मात्र होइन स्वयं प्रधानमन्त्री १०–५ सिंहदरबारस्थित कार्यकक्षको कुर्सीमा बसेर आफ्नै निगरानीमा काम गराउनुपर्ने बताए। काम गर्ने तरिका परिर्वतन नभएसम्म कुनै उल्लेख्य परिणाम नआउने भन्दै त्यो सुरु स्वयं प्रधानमन्त्रीबाटै हुनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्