सुर्खेत । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिले निर्देशनालय खारेजबारे प्रदेश सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ । सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीको अध्यक्षतामा सुर्खेतमा भएको बैठकले मन्त्रालयअन्तर्गतका निर्देशनालय खारेजले सरकार सञ्चालनमा अन्योलता ल्याएको र अब कुन संरचनाले के काम गर्ने ? भन्ने स्पष्ट नभएकाले चित्तबुझ्दो जवाफसहित समितिमा प्रस्तुत हुन सरकारलाई निर्देशन दिने निर्णय भएको हो ।
प्रदेश सरकारले निर्देशनालय खारेज गरी राजपत्रमा प्रकाशन गरिसकेको छ । उनले भने, “निर्देशनालयले कर्णालीका १० जिल्लाबाहेक लुम्बिनीका पाँच जिल्लाका साविक एसएलसीका कागजात सुधार गर्ने, शिक्षक सेवा आयोगका काम गर्ने, पाठ्यक्रम विकास केन्द्रका कार्य गर्ने, शैक्षिक जनशक्ति विकासका कार्य गर्दै आइरहेको अवस्थामा सरकारले निर्देशनालय खारेज गरेपछि ती काम कसले गर्ने भन्ने स्पष्ट छैन ।
यसको हामीलाई जानकारी चाहिन्छ । सार्वजनिक सेवा प्रवाहमा कमजोरी नहोस् भन्ने ध्येयका साथ हामीले सरकारको धारणा बुभ्न खोजेका हौँ ।”समिति सदस्य यामलाल कँडेलले सरकारकाे आवश्यकता नबुझेर मन्त्रिपरिषद्ले निर्णय गरी निर्देशनालय हटाउनुले अव्यवस्था जन्मिएको टिप्पणी गरे । समितिका सदस्य कलबहादुर हमालले निर्देशनालय खारेज तर निर्देशक नियुक्ति गर्ने प्रक्रिया आफैँमा कमजोर भएको बताए ।
बैठकमा विभागीय मन्त्री खड्गबहादुर पोखरेल, समितिका सदस्य जुम्कित लामा कार्की, इन्द्राकुमारी शाही, गमता विक, मिलन खड्का, मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारु, सामाजिक विकास मन्त्रालयका सचिव डा भोजराज शर्मा काफ्ले, समितिका सचिव राजेन्द्र पौडेलको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्