बझाङ । बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन् ।
सडक तथा बाटोघाटो निर्माणले टाढैबाट दर्शन गरिने झरना अहिले नजिकै आएर महसुस गर्न थालिएको स्थानीय भुवन जोशीले बताए । उनले भने, “हाम्रा लागि नजिकको तीर्थ हेला भनेजस्तै थियो । अहिले अन्यत्र जिल्लाका मानिस आएर रमाउन थालेपछि गाउँका मानिसहरुको पनि झरनाप्रति माया जागेको छ ।” उनका अनुसार गडरायबाटै झरना हेर्नेहरु अहिले झरनाकै पानी खेल्ने गरेका छन् । उनले भने ,“सडक नहुँदा कोही आउँदैन थिए । आजभोलि गाउँभन्दा बाहिरको मान्छे नआएको दिन खाली हुँदैन ।” द्वारकाँडी मष्टाको डाँडाबाट ‘सेल्फी’ खिच्नेहरु पनि आजभोलि झरनाको टुप्पामा पुग्ने गरेको उनले बताए ।
चम्ला झरनाको महिमा अपरम्पार जस्तै भएको सिंहले बताए । उनका अनुसार मष्टो देवताले बसोबास गर्दा लाचुणे दानवले दुःख दिएपछि कौछ्या देवतालेसँग मिलेर मष्टोले झरनाको ढलेल्याणीमा कौछ्याले बाणले हान्दा राक्षस लाचुणेलाई मारेको पौराणिक घटनाबाट झरनाको कथा सुरु हुन्छ ।देवता (मष्टो, कौछ्या) र राक्षस लाचुणेको लडाइँ लामो समयसम्म रह्यो । उनले भने, “दुवैतिरबाट पानीसमेत नखाई लडाइँ जारी राखे । त्यसपछि दानवलाई बाणले हानेर हराएपछि देवता पानी प्यासले काकाकुल भए । भिरमा पानी पाउने कुरै भएन । त्यसपछि मष्टोले चट्टानै चट्टान भएको भिरमा बाण हाने र पानीको मुहान फुट्यो । त्यही पानीले प्यास मेटे । त्यही पानीमा वरिपरि मूल फुट्दै तलको भिरमा गएर झणो (झरना) बनेको भन्ने किंवदन्ती रहेको छ ।”रामजङ्गबहादुर सिंहका अनुसार झरनाको पनि छुट्टै कथा छ । त्यसबेलामा लडाइँपछि धामी (देउता) लाई पानी प्यास लाग्दा भिरको धारो पर्ने ठाउँमा गए । धारोमा पानी पिउँदा हात भित्तामा अड्याएर पानी पिउँदै गर्दा धामीको पगरी (टोपी) तल खसेको थियो । त्यही टोपी पछि झरना भएको कुरा माङलमा उल्लेख भएको उनले बताए । अहिले टाढाबाट देखिँदा सेतो कपडा लगाउने धामीको हात अड्याएको ठाउँमा दुइटा झरना, धामीको खुट्टा भएको ठाउँमा कुण्ड र त्यही कुण्ड बगेर धामीको पगरी गएको ठाउँमा झरना भएको स्थानीयको बुझाइ छ । २०३६ सालमा आएको भूकम्पसँगैको पहिरो र केही वर्ष पहिलेको पहिरोले कुण्ड पुरिएको रामजङ्ग सिंह बताउछन् ।
साइत सुधार्न झरनामाथि पूजा
झरनाको माथिपट्टि स्थानीयले पुस्तौँदेखि पूजाआजा गर्दै आएका छन् । भूमि पूजा गर्दा आफूलाई, आफ्ना सम्पत्तिलाई जङ्गली जनावरदेखि कसैले पनि आक्रमण नगरून्, भिरपाखाबाट नखसून् भनेर रुद्रीपाठ, चण्डीपाठ बर्सेनि गरिँदै आएको छ । सबैको सोचेको पूरा हुने, शुद्ध पवित्र भइरहने, पानीको मुहान बढ्ने विश्वासले पूजाआजा गरिँदै आएका छन् । पूजाआजाका लागि ब्राह्मणले भनेको साइतमा जहिल्यै पूजा गर्ने र त्यसपछि मात्रै लेकाली काममा जाने गरेका छन् । विशेषगरी लेकमा वस्तुभाउ ल्याउनुभन्दा अगाडि पूजा गरेर ल्याउँदा जङ्गली जनावरबाट क्षति नहुने, रोगव्याधी नलाग्ने, भिरपाखामा गएर पनि नोक्सान नहुने विश्वासले पूजा लाग्ने गरेको खप्तडछान्ना–७ का भेषराज जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस्