काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह आज आइतबार चितवन जाने भएका छन् । परिवारका अन्य सदस्यसहित चितवन जान लागेका पूर्वराजा १६ दिन चितवनमा बस्ने कार्यक्रम तय भएको जनाइएको छ । पटिहानीको सोल्टी होटलमा बस्ने पूर्वराजा ज्ञानेन्द्र नितान्त निजी भ्रमणका लागि चितवन जान लागेका हुन् । गत वर्ष पनि उनी पटिहानी आएर ८ दिन बसेका थिए ।
उनि ‘गत वर्ष ८ दिन चितवन बसेका थिए, यसपटक १६ दिनका लागि कोठाहरु बुक गरिएका छन्’, सोल्टी होटल स्रोतले भन्यो, ‘उनको निजी भ्रमण हो, अरु भेटघाटका तालिका बनेको जानकारी छैन ।’ उनी जहाजबाट भरतपुर आउनेछन् । उनी चढ्ने सवारी साधानहरु भने यसअघि नै भरतपुर आइसकेका छन् ।
चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ । फागुन ७ गते पूर्व रानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्वराजा शाहको रहेको छ । ३२ वटा कोठा बुक गरेकोले उनका आफन्तहरु र नजिकैका मानिसहरु पनि यसपटक पटिहानी आउने स्रोतले जनाएको छ । पूर्वराजाको स्वागतका लागि होटल सोल्टीका अध्यक्षसमेत पटिहानी आएका छन् ।
पछिल्लो समय तराइ–मधेसका विभिन्न जिल्लाको भ्रमण गरेर राजनीतिक अभिव्यक्ति दिन थालेका पूर्व राजा ज्ञानेन्द्रको यस भ्रमण पारिवारिक भनिए पनि नागरिक अभिनन्दन जस्ता विभिन्न अभियानहरुको पूर्व तयारी हुन सक्ने भएकाले अर्थपूर्ण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्