ताप्लेजुङ\ ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको पाथीभरा केबलकारको कामलाई अघि बढाइने भएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा सोमबार बसेको सर्वपक्षीय बैठकले केबलकार निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको हो ।
पाथीभरा केबलकार निर्माणको काम अघि बढाउने निर्णय भने एकपक्षीय भएको छ । केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेका पक्षसमेत सहभागी भए पनि निष्कर्षमा नपुगी उनीरुले बैठक छाडेर हिँडेपछि एकपक्षीय निर्णय भएको हो ।
परियोजनाको विरोध गर्दैआएका पक्षका प्रतिनिधिले केबलकार निर्माण गर्न नहुने कुरा दोहोर्याउँदै बैठक छोडेर निस्केका थिए । केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत पक्षसँग वार्ता गर्न बनेको वार्ता समितिका संयोजकसमेत रहनुभएका जिल्ला समन्वय समिति प्रमुख लामाले उनीहरुको अवरोध रहे पनि कामलाई अघि बढाउने निर्णय भएको बताएका छन् ।
उनका अनुसार सङ्घर्षरत पक्ष बैठक छाडेर निस्के पनि वार्ता र संवादलाई निरन्तरता दिँदै निर्माणको कामलाई अघि बढाउने निर्णय भएको छ । सङ्घर्षरत पक्षका नेतृत्वसँग सहमतिको बिन्दु खोजेर समस्या समाधान गर्नुपर्छ भनेर आफूले निरन्तर समन्वय गरिरहे पनि समाधानका विषयमा उहाँहरुले तत्परता नदेखाएको प्रमुख लामाले जनाए।
केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको मुक्कुम्लुङ संयुक्त सङ्घर्ष समिति र केबलकार परियोजना खारेजी सङ्घर्ष समितिले पाथीभरा क्षेत्रको माथिल्लो फेदीभन्दा माथि केबलकार बन्न नहुने सुरुकै अडान दोहोर्याइरहेका छन् ।
लिम्बू समुदाय तथा आदिवासीहरु ऐतिहासिक मुन्धुमी (धार्मिक) स्थल पाथीभरा मुक्कुमलुङ भएकाले यहाँ केबलकार लगायत कुनै पनि संरचना बन्न नहुने अडान सङ्घर्षरत पक्षले राख्दैआएका छन् ।
सोमबारको बैठकमा पनि सङ्घर्षरत पक्षका प्रतिनिधिहरु सुरुदेखिको अडान कायम रहेको आफ्नो कुरा राख्दै बाहिरिएका थिए । त्यस्तै केबलकार निर्माणविरुद्ध जनता समाजवादी पार्टी नेपालसहित स्थानीय ६ राजनीतिक दल पनि एक ठाउँमा छन् । पाथीभरा पवित्र धार्मिक तथा ऐतिहासिक सांस्कृतिक स्थल भएकाले यहाँ केबलकार निर्माण गर्न नहुने भन्दै सोमबार नै संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।
प्रतिक्रिया दिनुहोस्