काठमाण्डौ \ नेकपा माओवादी केन्द्रले अब पार्टीका नेता तथा कार्यकर्तालाई चार श्रेणीमा विभाजन गरी सम्मान र कारबाही गर्ने भएको छ । विधान अधिवेशन अघि दुई दिन चलेको केन्द्रीय समिति बैठकका निष्कर्ष सुनाउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो निर्देशन दिएका हुन् । उनले चार महिने माओवादी विशेष रुपान्तरण अभियानमा खट्ने नेता तथा कार्यकर्ताको मूल्यांकन गरी प्रशंसा र कारबाही गर्नुपर्ने जनाए ।
उनले पार्टी अभियानमा पूरै खट्ने नेतालाई प्रशंसापत्र, आधा समय खट्नेलाई धन्यवादपत्र, बेलाबेला देखिएकालाई सचेतपत्र र कार्यक्षेत्रमा नखट्नेलाई कारबाहीपत्र दिन निर्देशन दिएका हुन् । अभियानमा नखट्ने नेताहरुको सूची कारबाहीका लागि पठाउन समेत उनको निर्देशन छ ।
अध्यक्ष प्रचण्डले चार महिने रुपान्तरण अभियान र अरु काममा पनि अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग (वाईसीएल) ले अपेक्षा गरेजस्तो काम गर्न नसकेको भन्दै नेतृत्व परिवर्तनको संकेत गरे । यस्तै माओवादीको केन्द्रीय समिति बैठकले हिमाल, पहाड, तराई र मधेश प्रदेशमा विशेष अभियान चलाउने निर्णय पनि गरेको छ ।
माओवादी केन्द्रको विधान अधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुने अधिवेशन तीन दिनसम्म चल्नेछ । अधिवेशनमा देशभरका १२ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्