काठमाडौँ । पत्रकार एवं साहित्यकार मनऋषि धितालका जनयुद्धको समय ९विसं २०५९ देखि २०६३० सम्मको यात्राका डायरीहरु (जनयुद्धकालीन डायरी) समावेश सात पुस्तक आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका छन् । लेखक धितालले यी डायरीलाई जेल र युद्ध क्षेत्रमा बिताएका हरेक दिनका एकाउन्ट भएको बताएका छन् । ‘जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्ग यात्रा, पिलीयात्रा र गण्डकयात्रा तथा गुफा प्रेसका चिठी’ का नाममा ती डायरी सार्वजनिक भएका हुन् ।
उनले साङ्केतिक रुपमा २०६० सालमा सहिद भएका चन्द्रबहादुर गुरुङ दिपेशकी छोरी दीपशिखाको हातबाट प्रधानमन्त्री प्रचण्डलाई पुस्तक हस्तान्तरण गराएर विमोचन गराउनुभयो । पत्रकार धितालले दिपेशलाई भेट गर्दा दीपशिखा गर्भमै थिए । बुबा चन्द्रबहादुर सुरक्षाकर्मीबाट मारिएको केही महिनामा उनी जन्मिएका हुन् ।सहिद चन्द्रबहादुर गुरुङ (दिपेश) ‘अर्वान गुरिल्ला’ हुनुहुन्थ्यो । मुख्य सहरमा गएर उनले कारबाही चलाउनुहुन्थ्यो । उनकी श्रीमती संविधानसभा सदस्य सीता पौडेलसँग लेखक धितालले पनि यात्रा गरेका थिए । त्यो बेला उनी गर्भवती थिए ।
पत्रकार धितालले भेटेको एक हप्ताभित्रै २०६० सालमा दिपेश सुरक्षाकर्मीबाट मारिएका थिए । बुबाको निधन भएको केही महिनामा दीपशिखा गुरुङको जन्म भयो । त्यही कारण लेखकले सहिदकी छोरीका तर्फबाट युद्धको सम्पत्ति भनौँ या युद्धको साहित्य अध्यक्ष वा राष्ट्रको कार्यकारी प्रमुखलाई हस्तान्तरण गरेर एउटा नयाँ सन्देश दिएका छन् ।
त्यो जनयुद्धको सन्देश दोस्रो पुस्ताले पनि प्राप्त गरोस् भन्ने सन्देश आजको यस विमोचन कार्यक्रमबाट पनि दिन खोज्नुभएको हो । एउटा पुस्तकमा दिपेशसँग भएका कुराकानीका सन्दर्भ समेत लेखकले समावेश गरेका छन् । पुस्तकमा लेखकले २०५९ सालदेखि २०६३ सम्मको यात्रा विवरणलाई समावेश गरेका छन् ।
पुस्तक सार्वजनिकीकरणका क्रममा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले आज फागुन १ गते जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा कठिन र चुनौतीपूर्ण त्यो परिस्थितिको स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ भन्ने बोध गरी सातवटा पुस्तक एकैसाथ सार्वजनिक गरेकामा लेखकलाई धन्यवाद दिँदै खुसीसमेत व्यक्त गरे ।
उनले भने, “सबैभन्दा पहिले मनऋषि धिताललाई धन्यवाद भन्न चाहन्छु, तपाईले इतिहासलाई जीवन्त राख्न र भावी पुस्तालाई इतिहासको अनुभव र अनुभूति प्रत्यक्षरुपमा सञ्चय गर्न मेहनत गरे र ऐतिहासिक दिनमा ऐतिहासिक पात्रका माध्यमबाट पुस्तक जसरी हस्तान्तरण गरे यो विशिष्ट र विशेष पनि छ ।”
राजनीतिक दृष्टिकोणले पहिलो वार्ता भङ्ग भएपछि सङ्कटकाल प्रारम्भ भएको थियो । त्यसै दिन जनादेश र जनदिशा दैनिकका पत्रकार समातिएका थिए । त्यो गिरफ्तार हुनेमध्येका एक दस्ताको सदस्य मनऋक्षि धिताल पनि हुन् ।
पुस्तकका सम्पादक राजकुमार कुँवरका अनुसार उहाँले हिरासतकालमा खासै लेख्न सक्नुभएको देखिँदैन । उनले जेल बसेको झण्डै एक वर्षको अवधिमा छ महिनापछि मात्रै लेख्न थाल्नुभएको थियो । यहाँ जेलका चार÷पाँच महिनाका सन्दर्भहरु मात्र समावेश छन् ।
लेखकले दोस्रो वार्ता भएपछि पहिलो कर्णाली यात्रा सुरु हुँदा यात्रासँगै डायरी लेखन पुनः सुरु गरेका थिए । विसं २०५९ पछिको पाँच वर्षे आफ्नो डायरीलाई पुस्तकका रुपमा उनले ल्याएका छन् ।
अध्यक्ष प्रचण्डलाई पुस्तक हस्तान्तरणपछि रासससँग कुरा गर्दै दीपशिखाले भने, “म त निकै गम्भीर भएँ । हामीलाई पनि कसैले भुलेका रहेनछन् भन्ने महसुस भयो, सहिद परिवारका बच्चालाई बिर्सिएको रहेनछ भन्ने पनि सोचेँ ।”
दिपेशकी श्रीमती सीता पौडेलले बुबा भन्ने थाहा नै नपाएको सहिदका सन्तानमार्फत देशको प्रधानमन्त्रीलाई हस्तान्तरण हुनु नै गर्वको विषय भएको बताए । उनले आफू पनि गण्डक यात्रामा कार्यरत रहँदा धितालसँग भेट भएको स्मरण गरे ।
उनले रासससँग भन्नुभयो, “दिपेश जनसेनाको कमाण्डर रहेका बेला नै धितालसँग चिनजान भएको रहेछ, उनीहरु बीच भेटघाटमा जुन कुराकानी रहेको छ । त्यो नै यसमा उतारेका छन् । उनीसहिद भएपछि लेखकले मलाई भेटे । मनऋषि दाइले चिठी पनि सान्त्वना र प्रेरणा दिने गरी लेख्नुभएको थियो । त्यही भेटका कुराहरु यहाँ रहेको मैले ठानेको छु ।”
उक्त पुस्तक राजकुमार कुँवरले सम्पादन गर्नुभएको हो । उनले भने, “यो जनयुद्धलाई सौन्दर्यकरण गर्ने, जनयुद्धको बलिदानलाई सम्मान, सहिद, बेपत्ता र घाइतेको रगत र आँसुका डोबलाई लिपिबद्ध गर्ने ऐतिहासिक दस्तावेज हो । अलिखित रुपमा रहेका सामग्रीलाई पाठकले कथा कहानी बनाएर पढ्नुभन्दा प्रत्येक दिन के भएको थियो भन्ने घटनाक्रमसहित प्रस्तुत गरिएकाले यो दस्ताबेज हो भन्ने मेरो दावी छ ।”
उनले ११ महिना लगाएर कृति सम्पादन गरेका थिए । उनले थपे, “जुनजुन भाग र पानामा सम्पादन गर्न प्रवेश गरेँ, त्यही दिनको जनयुद्धमा प्रवेश गरेझैँ भयो । यी सातवटै दस्तावेजमा त्यो समयका जीवन्त चित्र रहेको पनि उनले बताए ।
लेखक धितालले जेल परेदेखि आफू काठमाडौँ आएसम्मको र अध्यक्ष प्रचण्डसँग पहिलो पटक हेटौँडामा भेटेसम्मका विषय समावेश रहेका र यी सबै विषय सत्यमा आधारित रहेको बताए । आफूले भेटेको एक हप्ताभित्रै रुपन्देहीमा मारिएका र केही महिनामा दीपशिखाको जन्म भएकाले दोस्रो पुस्ताले पुस्तक हस्तान्तरण गरेर नयाँ अभ्यास गरेको उनको भनाइ छ ।
किताबभित्रका प्रायः नायक आजको सो कार्यक्रममा देखिएका लेखक धितालको भनाइ थियो । झण्डै दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म ती पुस्तकमा समेटिएका व्यक्ति नै नायक रहेका उनको भनाइ थियो । उनीहरुका बारेमा एक बाक्यदेखि कयौँ पेजसम्मका कुरा र अनुभूति पुस्तकमा सङ्ग्रहित छन् । लेखक धितालले नौ महिनामा आफूले यी तयार पारेको जानकारी पनि दिए । पुस्तक छाप्न आर्थिकरुपमा अप्ठेरो अवस्था हुँदाहुँदै पनि साथीहरुबाट सहयोग प्राप्त भएको पनि बताए ।
उनले भने, “जनयुद्धको म एकजना साक्षी थिएँ भन्ने विषयमा मसँग जे चिजहरु थिए, ती आज सर्वोच्च कमाण्डर कमरेड प्रचण्ड र मलाई फौजी क्षेत्रमा अघि बढाउने प्रभाकरका अघि सार्वजनिक गर्न र हस्तान्तरण गर्न पाएकोमा खुसी छु ।” कार्यक्रममा माओवादी नेता दिनानाथ शर्मा, प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्य, पत्रकार ओम शर्मालगायतको सहभागिता थियो ।
कुन डायरीमा के छ रु
जेलयात्रा स् यसमा जेलभित्र रहँदाको विवरण समेटिएको छ । आस्थाका बन्दीहरुको अवस्था कस्तो थियो भन्ने विषयका साथै उनीहरुमाथि भएका यातनाका विवरण पनि यसमा समावेश छन् ।
विशेष गरी जेल यात्रामा कृष्णसेन इच्छुकका बारेमा बढी राखिएको छ । लेखक धितालका अनुसार आफूहरु जेलमा परेका बेलामा उनको हत्या भएको थियो । उनीहरु २०५८ मङ्सिर ११ मा जेल परेको थियो । विसं २०५९ कात्तिक ५ गते रिहा भएको थियो । पुस्तकमा त्यसबीचका घटना र सन्दर्भहरु छन् । यो पुस्तक २८८ पृष्ठको छ ।
बेनीयात्रा स् म्याग्दीको बेनीमा भएको द्वन्द्वको अगाडि र पछाडिका यात्राका विवरणहरु यसमा समावेश छन् । विसं २०६० मा बेनीमा लडाइँ भएको थियो । त्यही वरिपरिका विवरण यसमा रहेको लेखकले बताए । जेलबाट छुटेपछि केही समय शान्तिपूर्ण अवस्था रहेको थियो । युद्धविराम भङ्ग हुने बेलामा माओवादीहरु भूमिगत भए । पत्रकारिता पनि भूमिगत गर्नुपर्ने अवस्था भयो । त्यसका लागि भूमिगत ठाउँमै प्रशिक्षण गरिएको थियो । त्यो र आफैँ युद्ध क्षेत्रमा गएर गरिएका रिपोर्टिङ र बेनी लडाइँका विषय यसमा रहेका उनले बताए । उनी बेनी लडाइँका बेलासँगै भएको सुनाए । यो पुस्तक ३४४ पृष्ठको छ ।
आधारयात्रा स् त्यो बेला माओवादी केन्द्रका ‘सुप्रिमो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ आधार क्षेत्रभित्रै हुनुहुन्थ्यो । त्यही बेला धिताल पनि सोही आधार क्षेत्रमा भएका समयका यात्राका विवरणहरु यसमा समेटिएका छन् । क्रान्तिकारीले आफ्नो मिडिया स्थापना गर्ने नीति लिएपछि जनरेडियो खुल्न थाले र जनादेश पत्रिका भूमिगत भयो । जनादेशको पहिलो चरणको अड्डा कानपुर लखनउ भएपछि जनादेशसम्म जाने र रिपोर्टिङ गर्न आउनेसम्मको खण्ड यस आधारयात्रामा रहेको छ । यो पुस्तक ४२४ पेजको छ ।
राजमार्गयात्रा ः त्यो बेला माओवादीका लडाकुहरु तराईका राजमार्ग बाँके, बर्दिया, कैलाली कञ्चनपुरको राजमार्गलाई नै कब्जा गरेर खुलम्खुला बसेका थिए । त्यसबेला राजमार्गमा गणेशपुर घटना भएको थियो । जनसेनाका कमाण्डर जितको गणेशपुरमा मृत्यु भएको थियो । अर्को धनगढी कारागार कब्जा गरेर माओवादीका सेनाले युद्धबन्दीहरुलाई आफैँले रिहा गरेर ल्याएका थिए । त्यही घटना र राजमार्गका डायरीहरु यसमा समावेश रहेको छ । उक्त पुस्तक राजमार्गमा खुला मार्च गरेर सेनालाई बाहिर बोलाएर गरिएको रणनीतिक प्रत्याक्रमणको दस्तावेज हो । यो ३४४ पेजको छ ।
पिलीयात्रा स् पिली लडाइँ वरिपरि अगाडि र पछाडिका यात्राहरु समावेश रहेको छ । राजनीतिक प्रशिक्षण पिलीको लडाइँ र त्यस आसपासका यात्राहरु रहेको यो २०६१ साल पछिको अवस्था हो । यो रणनीतिक प्रत्याक्रमणको युद्ध दर्शनलाई व्यक्त गर्ने दस्तावेज हो । यो पुस्तक ३६८ पेजको रहेको छ ।
गण्डकयात्रा स् २०६२ सालको जनयुद्धको अन्त्यतिरको १०० दिनका विषयवस्तु यसमा छन् । वैशाख ९ को परिस्थिति परिवर्तन भएपछि शान्तिपूर्ण स्थिति पनि थियो । युद्धविराम भइसकेको त थिएन तर दोस्रो जनआन्दोलनले एक खालको शक्ति सन्तुलनको अवस्था बनिसकेको थियो ।
त्यसबेलामा गण्डकयात्रामा जनसेनाका चार ओटा डिभिजन थिए । विशेष गरी पाल्पा अर्घाखाँची, तनहुँ, नवलपरासी क्षेत्रमा चार डिभिजन थियो । त्यो बेला जनआन्दोलन र जनयुद्ध एकै ठाउँमा मिश्रण भएको जस्तो देखिएको समयको यात्रा लेखकले यसमा स्मरण गर्नेछन् ।
त्यसैलाई समावेश गरिएको समग्र विवरण हो गण्डक यात्रा । यो नेपाली समाजले लोकतान्त्रिक गणतन्त्रमा कसरी सङ्क्रमण गर्यो भन्ने कुराको ऐतिहासिक दस्तावेज भएको सम्पादक राजकुमार कुँवर बताउछन् । यो पुस्तक ४२४ पेजको रहेको छ ।
गुफा प्रेसको चिठी स् लेखकका अनुसार यो पुस्तक भूमिगत अवस्थामा पत्रकारिता गर्दा जनादेशका पाठक, जनादेशका सम्पादक र संवाददाताले पत्राचार गरेका चिठीहरुको सङ्कलन हो । यसमा सहिद कृष्णसेन इच्छुकले आफ्नो परिवारका सदस्य श्रीमती, साथीहरुलाई पठाएका चिठीहरु पनि समावेश गरिएको छ ।
यसका साथै भूमिगतकालमा माओवादीले रेडियो सञ्चालनका लागि तयार पारेको निर्देशिका र भूमिगतकालमा भूमिगत पत्रकारिता कसरी गर्ने भनेर पार्टी अध्यक्ष प्रचण्डलाई दिइएका सुझावहरु पनि यसमा राखिएका छन् । “यो चाँहि अध्ययन अनुसन्धानका लागि सजिलो होस् भनेर समावेश गरेको हुँ”, लेखक धितालले भने । यो पुस्तक २५६ पृष्ठको छ ।
प्रतिक्रिया दिनुहोस्