विराटनगर\ सुनसरीमा केहि दिन अघि प्रहरीले ठुलो परिमाणमा नक्कली नोट बरामद गर्यो । यस्तै विष्फोटक पदार्थ राखेर नागरिकलाई त्रसित बनाउने समुह पनि पक्राउ पर्यो । यहि बेला गाँजा कारोवारको एउटा गिरोह समेत समातिएको छ ।
यसरी पछिल्लो समय एक पछि अर्को गर्दै पूर्वी नेपालमा आपराधीक समुह सक्रिय भएको पाईएको छ भने प्रहरीले सकृयता पनि बढाएको छ । केहि दिन अघि सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला पारेको थियो। एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट आइतबार बरामद गरेको हो । भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ । नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परे ।
त्रास फैल्याएर चन्दा
नक्कली नोट पक्राउ लगत्तै बम जस्तै देखिने बस्तु राखेर नागरिकमा त्रास फैल्याउने समुह पनि समातिएको छ । विराटनगर ३, घरेलु तथा साना उद्योग कार्यलय नजिक शंकास्पद कुकर भेटिएको थियो भने उक्त शंकास्पद बस्तु निष्कृय पार्न नेपाली सेनाको टोली परिचालित भयो । कालो टेपले बाँधिएको प्रेसरकुकरभित्र २७ डेटोनेटर १ र सेफ्टि फ्युज, सबुनको डल्ला र ढुङ्गाहरु फेला परेको थियो ।
सोहि घटनामा संलग्न रहेको भन्दै पक्राउ परेका २ जनालाई प्रहरीले मंगलबार पक्राउ गर्यो । प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पक्राउ पर्नेमा इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँको भिमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका– १ का ३० वर्षीय विपिन अधिकारी छन् ।
विभिन्न विद्यालयहरुमा धम्की दिएर चन्दा असुल गर्ने गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा उनीहरुले चन्दा आतंक मच्चाइरहेको प्रहरीले बताएको छ ।
गाँजा गिरोह
यहि बेलामा पूर्वी नेपालमा गाँजा गिरोह पनि सल्बलाएको छ । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ठूलो परिमाणको अबैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
बराहक्षेत्र नगरपालिका ९ राजाबाँसस्थित सप्तकोशी नदीको किनारबाट ४०६ केजी लागूऔषध गाँजा लोड भएको टाटा सुमो गाडीसहित दुई जनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।
मंगलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड फायरसमेत गरेको थियो । विशेष सूचनाको आधारमा प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको गाडीमा लोड गरी राखेको १३ बोरा गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको गाँजा ४०६ केजी ९४० ग्राम रहेको छ । लागूऔषध गाँजासहित गाडी चालक धरान उप–महानगरपालिका ४ का २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी ८ का २७ वर्षीय लक्ष्मण राई पक्राउ परेका हुन् । दुई दिनअघि पनि सुनसरी प्रहरीले धरानबाट १६३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो । यस्तै सोमबार १४९ किलो गाँजासहित १२ जना भारतीय नागरिक पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्