काठमाडौँ । हरेक वर्ष फेबु्रअरी १४ मा मनाइने भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस आज मनाइँदैछ । विशेष रूपमा प्रेमिल जोडीले आजको दिनलाई माया साटासाट गरेर मनाउने गर्दछन् ।
पछिल्लो समय युवा पुस्तामा प्रिय उत्सव बन्न पुगेको भ्यालेन्टाइन डे साताव्यापी रुपमा मनाउन थालिएको छ । जसअन्तर्गत फब्रुअरीे ७ मा रोज–डे का दिन गुलाफ दिएर सुरु हुन्छ भने त्यसपछि प्रस्ताव राख्ने, चकलेट दिने, टेडी दिने, वाचा गर्ने, अँगालो हाल्ने र अन्तमा प्रणय दिवस मनाउने गर्दछन् ।
आफ्नो प्रिय वा मन परेको व्यक्तिलाई रातो गुलाफ तथा उपहार दिएर आफ्नो प्रेम व्यक्त गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यसका लागि रातो गुलाफ तथा गिफ्ट पसल र रेस्टुराँहरुमा युवायुवतीको भीड देखिन्छ ।
ऐतिहासिकता
प्रेमको प्रतिक भ्यालेन्टाइन्स डे को इतिहास भने एउटा दुखद् घटनाबाट शुरु भएको छ । इस्वी संवत् २६९ मा रोमनमा सैनिकले स्त्रीसँग सम्बन्ध जोडेमा सैनिक कमजोर हुने भन्दै त्यहाँका तत्कालीन सम्राट क्लाउडियस द्वितीयले उनीहरुको प्रेम र विवाहमा रोक लगाए तर भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो निषेधलाई उल्लङ्घन गर्ने घोषणा गरे ।
आफ्नो निर्देशन उल्लङ्घन गरेको भन्दै सम्राटले पादरीलाई मृत्युदण्डको सजाय दिए । पादरी भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुरुअरी १४ का दिन मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनको यस बलिदानको स्मरण र सम्मान गर्दै यस दिनलाई भ्यालेन्टाइन्स डे को रूपमा मनाउन शुरु गरिएको हो ।
आलोचना र प्रतिवन्ध
विश्वका केही मुलुकहरुमा भने प्रणय दिवसमाथि प्रतिबन्ध लगाइएको छ । पाकिस्तान, साउदी अरबलगायतका केही देशमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध लगाइएको छ भने भारतमा प्रणय दिवस मनाउने गरिए पनि त्यहाँ पश्चिमी संस्कृतिको नक्कल भएको भन्दै केही समुहले आलोचना गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्