काठमाडौं \ माओवादी केन्द्रको विधान सम्मेलन आज पनि जारी रहनेछ । सम्मेलनमा समुहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रम चलिरहेको छ । बुधबार १३ वटा समुहले निष्कर्ष प्रस्तुत गरेका थिए भने आज सात वटा समूहले निष्कर्ष सुनाउने कार्यसूची छ । समूहका प्रमुखहरूले पार्टीको नाम र चुनाव चिन्ह फेर्न प्रस्ताव गरिरहेका छन् ।
केही नेताले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग वाम गठबन्धन गर्नसमेत आग्रह गरेका छन् । आज विहान ११ बजेदेखि शुरु हुने वैठकमा समूहगत छलफलका सुझावहरु पेश गर्ने क्रम सकेपछि आजै विधान सम्मेलन अन्त्य गर्ने तयारी भइरहेको छ ।
माओवादीको विधान अधिवेशनमा पदाधिकारीसहित सबै तहमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने मत बलियो देखिएको छ । प्रस्तावित विधान मस्यौदा अधिवेशनमा बुधबार १३ समूहबाट समूहगत सुझाव टोली नेताले अधिवेशनमा पेस गरेका थिए । यद्यपि निर्वाचन प्रक्रियाको विषयमा फरक–फरक मत आएको नेताहरूले बताएका छन् । समूह १५ बाट सुझाव पेस गर्दै हिमाल शर्माले पदाधिकारी सहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्न सुझाव दिए । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने मत बलियो रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्