काठमाडाैँ । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन सकिएको छ ।
फागुन १ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विधान मस्यौंदामाथि आज सात टोलीले सुझाव प्रस्तुत गरेका छन् । मङ्गलबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । हिजो १३ समूहका टोलि नेताले सुझाव राखेका थिए ।
आज विधानमाथि सुझाव प्रस्तुत गर्दै कमला नहर्कीले पार्टीलाई श्रम र उत्पादनमा सहभागी गराउने, रूपान्तरणको नयाँ अभियान थालनी गनुपर्ने र समावेशी क्लष्टरबाट खसआर्यलाई हटाउनुपर्नेमा जोड दिइन् । प्रेम बयकले विधानको प्रस्तावना छोटो हुनुपर्ने र पार्टीलाई जनउत्तरदायी बनाउनेगरी विधानमा ठोस व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने, जनवादी केन्द्रीयता मात्रै राख्नु राम्रो हुने तथा विचारको स्वतन्त्रता र कामकार्वाहीमा एकरूपता हुनुपर्ने आफ्नो समूहबाट सुझाव आएको बताए । समान पदमा २ कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्नेमा माग समूहमा उठेको उनले जानकारी गराए ।
केन्द्रीय सदस्य राजकाजी गुरूङले विधानको भाषा उत्कृष्ट हुनुपर्ने उल्लेख गर्दै त्यसको पालना गर्ने सामूहिक प्रतिबद्धता स्पष्ट आउनुपर्ने सुझाव दिए । जनप्रतिनिधि चयन गर्दा पार्टी कमिटीबाट निर्वाचित हुने प्रावधान राख्नुपर्ने उनको धारणा छ ।
पार्टीलाई प्रवलीकरण गर्ने या पुनर्निर्माण ? भन्ने स्पस्ट गर्न अर्का केन्द्रीय सदस्य रामदीप आचार्यले माग गरे । निर्वाचनका लागि ठूला लेयरहरू हटाउनुपर्ने उनको सुझाव छ । कृष्णध्वज खड्काले वैकल्पिक केन्द्रीय सदस्य र केन्द्रीय समितिको विधान परिवर्तन गर्न नपाउने व्यवस्था विधानमा सुनिस्चित गराउनुपर्ने धारणा राखे ।
सुमन देवकोटाले कार्यकर्ताको सूचक निर्माण गर्नुपर्ने र सम्पत्ती सार्वजनिक गर्नुपर्ने सुझाव आफ्नो समूहको रहेको जानकारी गराए । संघीयताको मर्मअनुसार विधान तयार गरिनुपर्ने उल्लेख गर्दै विभागहरु प्निविधानमा नै उल्लेख गर्नुपर्ने उनको सुझाव छ ।
समूहगत सुझाव संकलन सकिएसँगै अब अध्यक्ष प्रचण्डले जवाफ दिने र आजै अधिवेशन सम्पन्न गर्ने माओवादीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्