स्याङ्जा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्याङ्जाको चापाकोट महोत्सव तथा व्यापार मेलाको उद्घाटन गरेका छन् । चापाकोट उद्योग वाणिज्य सङ्घद्वारा चापाकोट–९ सुन्तलीटारमा आजदेखि सो महोत्सवको दोस्रो संस्करण सुरु भएको हो ।
सो अवसरमा मन्त्री गुरुङले कामबाट परिवर्तन वा परिणाम देखाउनुपर्नेमा जोड दिए । उनले भने, “यथार्थमा परिणत गर्नका लागि काम गर्नैपर्छ, म त्यसमा कटिबद्ध छु ।” चापाकोटमा कृषि क्याम्पस स्थापना, प्रहरी कार्यालय, ग्रामीण सडक स्तरोन्नति, कालीगण्डकीमा पुल यथाशीघ्र निर्माणका लागि पहल गर्ने मन्त्री गुरुङले आश्वासन दिए ।
चापाकोट विविध दृष्टिले सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै मन्त्री गुरुङले यसको वृहत्तर विकासका लागि दलगत स्वार्थभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिए ।
‘हाम्रो शान, हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान’ नाराकासाथ सुरु भएको चापाकोट महोत्सव यही फागुन १३ गतेसम्म चल्ने चापाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष निर्मल रानाले जानकारी दिए । हस्तकला तथा स्थानीय कृषि उत्पादन, धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार, कालीगण्डकीमा जलयात्रा, जिल्लास्तरीय भलिबल प्रतियोगिता, भजन÷चुड्का, रत्यौली प्रतियोगितालगायत महोत्सवका विशेषता रहेका छन् । महोत्सवमा दुई सय ५० व्यापारिक कक्ष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्