Ads

समाजवादको लक्ष्य पूरा गर्ने दायित्व युवाको काँधमा छ : उपेन्द्र यादव


धनुषा । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादले लिएको लक्ष्य पूरा गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन् । शनिबार समाजवादी युवा सङ्घ केन्द्रीय समितिद्वारा आयोजित प्रशिक्षणमा उनले अहिलेका युवामा विचार र सिद्धान्तको कमी भएको समेत उल्लेख गरे ।

पार्टी निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने भन्दै अध्यक्ष यादवले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण जरुरी रहेको बताए । प्रशिक्षणमा मधेस प्रदेशका पूर्वआन्तरिक, सञ्चार तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले वौद्धिक प्रशिक्षणले मात्रै सङ्घीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न सक्ने औँल्याए । उनले पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधीहरु बढको भन्दै युवालाई त्यसतर्फ सचेत रहन सुझाव दिए ।

“सङ्घीयतालाई समाप्त गर्न केही अनावश्यक तत्व सक्रिय भएका छन् । त्यसलाई वौद्धिक तवरबाट प्रशिक्षित भएर मात्रै चिर्न सकिन्छ”, उनले भने । मधेस प्रदेश सरकारका उर्जा, सिँचाई तथा खानेपानी मन्त्री सिहांसन साह कलवारले युवाहरुमा अध्ययनमा रुचि घट्दै गएको प्रति चिन्ता व्यक्त गरे । उनले शिक्षित युवा राजनीतिकर्मी भए मात्रै देश र समाजले उच्च स्तरको बौद्धिकता पाउन सक्ने धारणा राखे ।

जसपा मधेस प्रदेशका नवनियुक्त अध्यक्ष बालकिशोर यादवले युवाको व्यक्तिगत, राजनीतिक र संगठनिक जीवनमा निखारता ल्याउन जरुरी रहेको बताए । पार्टीको विचार, नीति र सिद्धान्तबारे जानकारी पाएपछि समुदायमा अघि लिएर जान सहज हुने उनको भनाइ थियो । उनले युवाहरु अनुशासित हुनु जरुरी रहेको बताउँदै पार्टीले लिएको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशनसमेत दिए ।

मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य बिक्की यादवले प्रशिक्षणबाट युवाले नयाँ जानकारी हासिल गर्ने बताए । प्रशिक्षण फागुन ८ गतेसम्म चल्ने छ । प्रशिक्षणमा जनता समाजवादी पार्टी (जसपा) नेपालका भातृसंगठन समाजवादी युवा सङ्घका सातै प्रदेशका पदाधिकारीहरुको उपस्थित छ ।

Ads

सम्बन्धित पोष्टहरू