काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले निराशा, कुन्ठा र नकारात्मकताले गाँजिएको समाजमा सकारात्मक पक्षपोषणका लागि राष्ट्रिय समाचार समिति(रासस) मियो बन्न सक्नुपर्ने बताएका छन्। राससको ६३औं वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै उनले समाचार सामग्रीहरुमा राजनीतिका विषयवस्तु बढी हावी हुँदा अन्य मुद्दा, विषय र क्षेत्रहरु ओझेलमा परेको हो कि भन्नेतर्फ केन्द्रित हुन पनि आग्रह गरेका छन् ।
उपराष्ट्रपतिले राससले नेपालको परिवर्तित परिवेशमा सामाजिक एवं सांस्कृतिक विविधताको प्रसार र पृष्ठपोषकका रूपमा काम गर्नुपर्नेमा जोड दिँदै राजनीतिक र आर्थिक जीवनको विभिन्न पक्षहरुको प्रकटीकरणका साथै सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्र्ने भूमिकामा अझ प्रखर हुन जोड दिएका छन् । “पूर्वाग्रहबाट नभई वर्तमान परिवेशमा रूपान्तरित सोचका साथ अघि बढ्दै सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समावेशीता, समानता र सुशासनका पक्षपोषणमा रासस खरो उत्रिन सक्नुपर्दछ ।’’, सन्देशमा भनिएको छ, “नयाँ–नयाँ सूचना प्रविधिको अविष्कार र विकाससँगै सञ्चारमाध्यमले सङ्ख्यात्मक फड्को मारिरहेको अवस्थामा पत्रकारितामा पेशागत गुणवत्ता कायम राख्नु चुनौतीपूर्ण कार्य हो । अझ, नेपालको चुनौतीपूर्ण राजनीतिक वस्तुस्थिति र आशालाग्दा उपलब्धिबीच पत्रकारितामा व्यावसायिक तिक्खर उपस्थिति देशको आवश्यकता भएकाले त्यसको गहन पहल गर्न राससले आफ्नो भूमिकालाई थप परिस्कृत र जिम्मेवार भई अग्रसर मात्र हुने होइन, अब्बल नेतृत्वदायी भूमिका पनि निर्वाह गर्न जरुरी छ ।’’
उपराष्ट्रपतिले आफूलाई थप सवल र शुद्ध बनाउदै व्यावसायिक आचरणलाई परिस्कृत, परिमार्जित गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी पनि राससको काँधमा रहेकाले सामाजिक, आर्थिक, राजनीतिक, भाषिक, शैक्षिक, समावेशीता, समानताको पक्षमा बढी भन्दा बढी आमनागरिकको अपनत्व बढाउन सबै क्षेत्र, भूगोल, वर्गको प्रतिनिधित्व हुने गरी समाचार सामग्री, विषयवस्तु र सेवाहरु उसले पस्कन थप प्रयास गर्नुपर्नेमा जोड दिए ।
उनले हालै अवधी भाषाको सामग्रीको उत्पादन शुरु गरेर अन्य मातृभाषीलाई पनि राससको समाचार सामग्रीमा अपनत्व लिने गरी नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल, सुद्ध र व्यवस्थित गर्न राससको सक्षम नेतृत्व, जनशक्ति र व्यवस्थापकले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने विश्वास पनि शुभकामनामा व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्