Ads

धमाधम आयोजना हुँदै विभिन्न गोल्डकप


दमक, यस बेला कोशी प्रदेश फुटबलमय हुँदै गएको छ । विभिन्न ठुला गोल्डकपहरुको आयोजनाले खेलक्षेत्र चलायमान भएको संकेत दिएको छ । यसै क्रममा सुनसरीको धरानमा आयोजना हुने २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप यही फाागुन २६ गतेबाट सञ्चालन हुने भएको छ ।

आयोजक धरान फुुटबल क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । आयोजकका अध्यक्ष प्रताप तामाङका अनुसार देशविदेश गरी ८ टिम सहभागी हुँदैछन् । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब, श्री स्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल सङ्घ मोरङ, भारतीय क्लब युकेएफसी सहभागी हुनेछन् । प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी पाउने छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख र प्रत्येक खेलको म्यान अफ द म्यान नगद १० हजार पाउनेछन् । यस्तै उत्कृष्ट गोल रक्षकले २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार तथा सर्वाधिक गोलकर्ताले नगद ३५ हजार रुपैयाँ पाउने छन् ।

विराट गोल्डकप
विराट गोल्डकपको आठौं संस्करण चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार १० टोली सहभागी गराउनेगरि प्रतियोगिताको तयारी भएको छ । सहभागी हुने टिमको छनौट भने भइसकेको छैन ।

प्रतियोगिताको लागि मैदान व्यवस्थापनदेखि सहभागी क्लबहरुसँग समन्वय गर्नेलगायतको काम भइरहेको शाहीले जानकारी दिएका छन् । सहिद रंगशाला विराटनगरमा यो पटक पनि प्रतियोगिता रात्रिकालीन हुनेछ ।

प्रतियोगिताको पुरस्कार राशी भने झन्डै आधा घटाइएको छ । प्रतियोगिताको विजेताले गत वर्ष २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएकोमा यो वर्ष विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष गोल्डकप आयोजना गर्दा धेरै घाटा लागेका कारण यो वर्ष पुरस्कारको राशी घटाउन बाध्य भएको अध्यक्ष शाहीले बताए ।

झापा गोल्डकप

यस्तै फागुन १९ देखि २८ सम्म हुने झापा गोल्डकपको तयारी पनि अन्तिम चरणमा पुगेको छ । आसन्न छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरुको नाम सार्वजनिक गरिएको छ ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो ।

त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको छ ।

झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० टिमको सहभागिता रहनेछ । छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । त्यस्तै, विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्नेतले बताए ।

प्रतियोगितामा गत सिजनको सहिद स्मारक ए डिभिजन लिग विजेता टिम चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने छन् ।

Ads

सम्बन्धित पोष्टहरू