Ads

जोखिमलाई अवसरमा बदल्ने उपायको खोजी


दमक\ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रामा छन् ।  ‘जीव– जनावर, जंगल, जनतामैत्री–जिम्मेवार जनप्रतिनिधि’ भन्ने नारासाथ नेपाल–भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट बुधबार पदयात्रा शुरु भएको हो । हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवं मानव–हात्ती द्वन्द न्यूनीकरण गर्दै हात्तीमैत्री पर्यावरण पर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

कोशी सरकारले पर्यावरण संरक्षण गर्ने उद्देश्यसहित ‘जसको जंगल, उसको मंगल’ कार्यक्रम बजेटमार्फत नै अघि सारेको छ । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबीचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरु गरिएको बताएका छन् । जनता र हात्ती दुवैलाई दुःख नहुनेगरी समस्या समाधान खोज्न गाउँबस्तीमा आएको उनले बताए ।

‘जीव, जंगल, जनावर, मानिस सबैको संरक्षण गर्ने अभियान हो’ मुख्यमन्त्री कार्कीले भने, ‘समस्या पहिचान गर्ने प्रयास हो । सिंगो सरकार जनताको ठाउँमा समस्या हेर्न आएका हौं । दुःख बुझ्न आएका हौं ।’ सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँमा आइ दुःखको कुरा सुन्दै अघि बढ्ने र हात्तीको ज्यानको पनि संरक्षण गरिने उनको भनाइ छ । सरकारले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाएको पनि मुख्यमन्त्री कार्कीले बताएका छन् । बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ । पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, हात्तीविज्ञ, नागरिक समाजको सहभागिता छ ।

मुख्यमन्त्री कार्कीको टोलीले जैविक मार्गमै पर्ने ७ स्थानमा रात्रीकालीन विश्राम गर्नेछन् । एसियन हात्तीहरू वर्षेनी भारतको आसामबाट मेचीनदी पार गरी झापा जिल्लाको बाहुनडाँगीका विभिन्न चारवटा गौंडाबाट नेपाल प्रवेश गर्ने गर्दछन् । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर आवतजावत गर्ने क्षेत्रमै मुख्यमन्त्री कार्कीले पदयात्रा तय गरेका हुन् ।

मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदलयात्रा गर्ने रुट तय गरिएको छ । चार जिल्लाका विभिन्न २३ स्थानीय तहमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्ने मुख्यमन्त्री कार्कीले बताएका छन् ।

कोशी प्रदेशका चार जिल्लामा पछिल्लो पाँच दशकयता जनसंख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चाप सँगसँगै हात्तीको जैविक मार्गको सूचना र प्राकृतिक बासस्थानको क्षयीकरण भएको विज्ञहरुले बताउँदै आएका छन् । झापामा मात्र २०६७ यता हात्ती–मानव द्वन्द्वमा ६५ जना मानिस र २१ हात्तीको मृत्यु भएको छ ।

हात्तीले मानवीय सहित घरगोठ, खेतबारी तथा अन्नबाली विनास गर्ने र मानवीय क्षति पुर्याउँदै आएको छ । हात्तीको प्राकृतिक बासस्थानको संरक्षण गर्दै मानवीय क्षति न्यूनीकरणका लागि मुख्यमन्त्री कार्कीले ९० लाख रुपैयाँ बजेट बिनियोजन गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू