काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच पनि आज पनि वार्ता हुँदै छ । आज बिहान ११ बजे गृहमन्त्रालयमा वार्ता हुनेछ । हिजो भएको पहिलो चरणको वार्ता सकारात्मक भएको दुवै पक्षको भनाइ छ ।
गृहमन्त्रालयले हिजो मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई पत्र लेखेर वार्तामा बोलाएको हो । त्यसअघि अध्यक्ष अवधेश कुशवाहालाई पत्र लेखेपछि संघर्ष समितिले व्यक्तिगत बोलाएको भन्दै असन्तुष्टि जनाएको थियो । समितिको असन्तुष्टिपछि सरकारले पुनः समितिका नाममा पत्र पठाएपछि साँझ पहिलो चरणको वार्ता भएको हो ।
गृहमन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । गृहले पत्रमा मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानुन संशोधन, अधिकार सम्पन्न आयोग गठन, दुवै पक्षबीच मेलमिलाप गराउने र सहमति नभएका विषयमा कानुन बमोजिम मुद्दा दर्ता गर्ने लगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गर्ने विषय उल्लेख गरेको छ । अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्दै २३ दिनको पैदलयात्रापछि काठमाडौं आइपुगेका मिटरब्याजपीडितलाई सरकारले ५ दिनपछि हिजो वार्तामा बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस्