काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राययादवले नेपाल खानेपानी संस्थानको खारेजी नभई पुनःसंरचना गर्न आवश्यक भएको औँल्याएका छन्। संस्थानको ३५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री यादवले नेपाली नागरिकमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न संस्थाको पुनःसंरचना आवश्यक भएको बताए ।
“मुलुकको राजनीतिक व्यवस्था पुनःसंरचना गरिसकेका छौँ । खानेपानीको सवालमा पनि यस संस्थानको पुनःसंरचना गर्न जरुरी छ, उनले भने – “संस्थानको आवश्यकता छ । पुनःसरचनाका बारेमा छलफल गरी टुङ्ग्याउनुपर्छ । संस्थानले आफ्नो दायित्व इमानदारीपूर्वक बहन गर्नुपर्छ ।”संविधानले प्रत्याभूत गरेका नागरिकका चासोलाई तीन तहको सरकारले समन्वयात्मक ढङ्गले सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री यादवले संस्थानलाई थप मितव्ययी र पारदर्शी बनाउन आवश्यक छ भने ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बजेट वक्तव्यमा उल्लेख भएको संस्थानको खारेजीको विषयमा अध्ययन भएको तर खानेपानी संस्थानको मौज्दा जनशक्ति स्थानीय तहमा समाहित हनुनसक्ने बताए । यद्यपि उनले त्यसको कारण भने खुलाएन । “ संस्थानलाई तत्काल खारेज गर्ने अवस्था छैन । व्यावसायिक योजना बनाएर अघिबढ्न आवश्यक छ”, उनले भने ।
नेपाल खानेपानी संस्थान, सञ्चालक समिति अध्यक्ष, गुणाखर भुसालले संस्थानलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न कर्मचारीमैत्री वृत्ति विकास आवश्यक भएको बताए । संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले संस्थानको खारेजी प्रक्रियालाई अघि नबढाउन सम्बन्धित निकायलाई पत्राचार गरिएको बताउँदै जापान सरकारको सहयोगमा कर्मचारीलाई तालिम प्रदान गरी उनीहरूको क्षमता अभिवृद्धि गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्