काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडाैंको आयोजना र चन्द्रागिरि हिल्स प्रालिको सहकार्यमा सञ्चालित तीन दिने ‘चन्द्रागिरि केबलकार आपत्कालीन उद्धार अभ्यास–२०८०’ अन्तर्गत मंगलबार कृतिम घटनाक्रममा आधारित उद्धार अभ्यास सम्पन्न भएको छ ।
आपत्कालीन अवस्थामा उद्धारका लागि तयारी रहनका लागि उक्त अभ्यास गरिएको पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए । नेपालमा उदीयमान केबलकार प्रविधिमा हुन सक्ने जुनसुकै आपत्कालीन अवस्थामा उद्धार तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपाल र केबलकार सञ्चालकबीच आ–आफ्नो मानव संसाधन, स्रोतको अवस्था, सामर्थ्य एवं दुई संस्थाबीचको सहकार्यलाई प्रभावकारी बनाउने र प्रविधिलाई पूर्णतः सुरक्षित बनाउनु रहेको उनले बताए ।
प्रहरी नायब महानिरीक्षक थापाले नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो समयमा ‘बोर्डर सेक्युरिटी, इन्टरनल सेक्युरिटी, रिभेन्यु सपोर्ट र डिजास्टर म्यानेजमेन्ट’ (विआइआरडी) अवधारणालाई प्राथमिकतामा राखेको बताए । उनले सोही अन्तर्गतको एउटा कार्य विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लैजाने सङ्गठनको नीतिअनुरुप सरोकारवाला जुनसुकै निकायसँग समन्वय र सहकार्य गरी विपदबाट हुने जोखिम तथा क्षति न्यूनीकरण गर्न बाहिनी मुख्यालय सदैव तत्पर रहेको बताए ।
उक्त उद्धार अभ्यासमा मुख्यालयका तर्फबाट सशस्त्र प्रहरी नायब उपरीक्षक कमलबहादुर अधिकारीको नेतृत्वमा विपद् व्यवस्थापन तालिमप्राप्त २६ जना र चन्द्रागिरि हिल्सको तर्फबाट मेकानिकल इन्जिनियर मधुकर बलामीको नेतृत्वमा आठ जना सहभागी थिए । अभ्यासमा दुई फरक–फरक आपत्कालीन अवस्थाको परिकल्पना गरी माथिबाट तलतर्फ र माथिबाट दायाँ वा बायाँ सुरक्षित स्थानतर्फ क्याबिनमा सवार यात्रुलाई रोप रेस्क्यु प्रविधिको प्रयोग गरी उद्धार गर्ने प्रविधिको प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा चन्द्रागिरि हिल्सका कार्यकारी निर्देशक अरुण प्रधानले सशस्त्र प्रहरी बल, नेपालले हालका दिनमा विपद् व्यवस्थापनको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै उद्धार अभ्यासले आगामी दिनमा हुनसक्ने केबलकार आपत्कालीन अवस्थामा उद्धार तथा व्यवस्थापन गर्न दुई संस्थाबीचको क्षमता अभिवृद्धि भएको बताए ।
प्रतिक्रिया दिनुहोस्