काठमाण्डौ । राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा ऐनको विधेयक सदनमा प्रस्तुत गर्ने अन्तिम तयारी रहेको बताएका छन्।
प्रचण्डले संघीयता कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रको विवाद क्षेत्र, दोहोरोपना हटाउन सरकार लागिपरेको बताएका छन् । राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्नका लागि सरकार गम्भीर रहेको र ती आयोजनामा समस्या देखिएमा समाधानका लागि तयार रहेको प्रचण्डले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारले आगामी वैशाखमा लगानी सम्मेलनको तयारी गरेको जानकारी गराएका छन् । उनले बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि स्वदेशी स्रोत जुटाउने काम भइरहेको र मुआब्जा वितरण अन्तिम चरणमा पुगेको पनि बताएका छन् ।
फास्ट ट्र्याकको शुरु विन्दु खोकनामा जग्गा प्राप्तिमा भइरहेको समस्या समाधान गर्न सरकार लागि परेको बताउँदै त्यसका लागि नेपाली सेनाले पनि भूमिका खेलिरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले संसद् र संसदीय समितिलाई बजेट कम भएको गुनासो आएकोले बजेटको अभावमा काम गर्न नसक्ने अवस्थाको अन्त्य गर्न आफूले अर्थ मन्त्रालयलाई निर्देशन दिएको समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्