काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । प्राधिकरणको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ४५ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो । गत आर्थिक वर्षभरिको प्राधिकरणको खुद नाफा १२ अर्ब ३३ करोड रुपैयाँ छ ।
प्राधिकरणले सार्वजनिक गरेको चालु आवको ६ महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी भएको छ । सो आम्दानीबाट विद्युत् खरिद, प्रशासनिक लगायत खर्च ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ छ ।
आर्थिक वर्ष २०७२–७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रण लगायतले गर्दा चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।
प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । सोही अवधिमा १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्