काठमाडाैँ । कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक विषयमा छलफल गर्न पार्टीका उपसभापति र महामन्त्रीहरूलाई बोलाएका छन् ।
राष्ट्रियसभा अध्यक्षको चुनाव, महासमिति बैठकपछिको परिस्थितिसहितका विषयमा छलफल गर्न देउवाले आफ्नै निवास बूढानीलकण्ठमा उपसभापति र महामन्त्रीद्वयलाई बोलाएको जानकारी कांग्रेस स्रोतले दियो ।
‘राष्ट्रियसभा अध्यक्षको निर्वाचन नजिक आइरहेको छ । यसमा हाम्रो र नेकपा (माओवादी केन्द्र) दुवै दलको दाबेदारी देखिएको छ,’ स्रोतले भन्यो, ‘माओवादीको दाबी देखिँदै गर्दा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न सभापतिले बैठक बोलाएको जानकारी पाएका छौं ।’
साथै बैठकले महासमिति बैठकले जिम्मा दिएका महत्वपूर्ण प्रस्तावलाई परिमार्जन गर्ने केन्द्रीय समिति बैठक बोलाउनेबारे पनि छलफल गर्ने बताइएको छ । सांगठनिक प्रस्तावमा सत्ता गठबन्धनको विरोध भएपछि केन्द्रीय समितिले अन्तिम टुंगो लगाउने गरी कांग्रेसले महासमिति बैठक समापन गरेको थियो ।
देउवाको निवासमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्