एजेन्सी \ गाजा सहर नजिकै मानवीय सहायता सामग्री लिने क्रममा कम्तीमा एक सय १२ जना प्यालेष्टिनी मारिएका छन् भने दुई सय ८० जना घाइते भएका छन् । गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली सुरक्षा बलले गोली हानी हत्या गरेको आरोप लगाएका छन् । इजरायलले भने सहायता वितरण गर्ने ट्रकलाई भिडले घेरेको र भागदौडका क्रममा हताहती हुन पुगेको दोष लगाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो दुखस्द घटनाबारे इजिप्ट र कतारका नेताहरूसँग छलफल गरेको ह्वाइट हाउसले जानकारी दिएको छ । प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासले इजरायलले एउटा कुरुप हत्याकाण्ड गरेको टिप्पणी गरेका छन् ।
फ्रान्सको परराष्ट्र मन्त्रालयका प्रवक्ता क्रिस्टोफ लिम्वानले सहायता सामग्री वितरणमा सर्वसाधारणको सुरक्षा गर्नु अन्तर्राष्ट्रिय कानुन अन्तर्गत इजरायलको जिम्मेवारी भएको प्रतिक्रिया दिएका छन् । प्यालेस्टिनी सशस्त्र समूह हमासले यो घटनाले कतारमा जारी संघर्षविरामको वार्तालाई असर पुग्ने बताएको छ ।
संयुक्त राष्ट्रसंघ र अन्य राहत निकायहरूले इजरायलले गाजा क्षेत्रमा आफ्ना सहायता सेवा प्रवाहको प्रयासमा अवरोध तथा नियन्त्रण गर्ने गरेको गुनासो गरेका छन् । इजरायलले भने त्यस्तो गुनासोलाई अस्वीकार गरेको छ ।
अक्टोबर ७ यताको इजरायली सैन्य कारबाहीमा ३० हजार ३५ प्यालेस्टिनी मारिएको र सत्तरी हजार प्यालेस्टिनी घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली आक्रमणमा गाजाको अधिकांश क्षेत्र ध्वस्त भएको छ भने करिब २३ लाख जनसङ्ख्या विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्