काठमाडौं । सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णय फाइल झिकाउन आदेश दिएको छ।
न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको इजलासले शुक्रबार निर्णय फाइल झिकाउन आदेश दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए।
मालपोत कार्यालय, डिल्लीबजारले २४ माघमा च्याम्पियन फुटवेयर प्रा.लि.को नाममा दर्ता कायम रहेको जग्गा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को पत्राअनुसार ‘सरकारका नाममा श्रेस्ता अध्यावधिक गरी ल्याउन’ भन्दै सञ्चालक समितिका सीजी चाँदवाग रेसिडेन्सी प्रा.लि.लाई पत्र काटेको थियो ।
सीआईबीले १८ फागुनमा च्याम्पियन फुटवेयर प्रा.लि. (हालको सीजी चाँबाग रेसिडेन्सी प्रा.लि.) का सञ्चालक एवं शेयर धनी अरुणकुमार चौधरी, सञ्जय ठाकुर र तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।
तर, अदालतले दोस्रो पटक म्याद लिन जाँदा तीन दिनभित्र हाजिरी जमानीमा छाड्नू वा मुद्दा बुझाउनुपर्ने आदेश दिएपछि उनीहरु छुटेका थिए । यसपछि गृह प्रशासनले हडपिएको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया थालेको थियो ।
प्रतिक्रिया दिनुहोस्