काठमाडाैँ । त्रिकोणीय टी२० सिरिजमा शनिबार नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार जित हात पारेको छ । जारी प्रतियोगिताको पाँचौ खेलमा पहिलोपटक लक्ष्य पछ्याउने टिम विजयी भएको हो ।
त्रिवि मैदानमा नेदरल्यान्डस् कप्तान स्कट इडवार्डसले टस जितेर नेपाललाई पहिला बलिङको निम्तो दिएका थिए । तर, उनको निर्णयलाई गलत सावित गर्दै नेपाली बलरले नेदरल्यान्ड्सलाई १२० रनमा अलआउट गरे । १२१ रनको सामान्य लक्ष्य पाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले ८६ रनको साझेदारी गरे । रोहितले ३४ बलमा ४६ रन बनाए भने गुल्सनले ३६ बलमा ३८ रन बनाए ।
यो जितसँगै नेपालको फाइनल स्थान लगभग पक्का भएको छ । सुरुवाती दुई खेलमा हार व्यहोरेको नेपालले पछिल्ला दुई खेलमा लगातार जित हात पारेको हो । अंक तालिकामा हाल ४ अंकका साथ नेदरल्यान्ड्स शीर्ष स्थानमा छ भने नेपालको पनि चार अंक छ । २ अंक रहेको नामिबिया तेस्रो स्थानमा छ । शीर्ष दुई टिम फाइनल पुग्नेछन् । भोलि नामिबिया र नेदरल्यान्ड्सबीच हुने खेलपछि फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।
शनिबार त्रिवि मैदानमा प्रतिशत जिसीले घातक बलिङ गरेपछि नेदरल्यान्ड्स सस्तैमा रोकिएको थियो । उनले चार ओभरमा १३ रन मात्र दिएर महत्वपूर्ण तीन विकेट लिए । यस्तै कुशल मल्लले पनि चार ओभरमा १८ रन दिएर दुई विकेट लिए । यस्तै करण केसीले पनि तीन ओभरमा १८ रन दिएर २ विकेट लिए।
प्रतिक्रिया दिनुहोस्