कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विज्ञान र प्रविधिबिना अगाडि बढ्न नसकिने बताएका छन् । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रविधि सम्मेलनको समापन कार्यक्रममा उनले राज्यबाट पछि पारिएको कर्णाली विज्ञान र प्रविधिको प्रयोगसँगै अगाडि बढ्ने बताए ।
डिजिटल कर्णालीमा दक्ष जनशक्तिको आवश्यक रहेको जनाउँदै उनले प्रविधि सम्मेलनले कर्णालीमा लगानीको आधार तयार पार्न सघाउनेमा विश्वास व्यक्त गरे । कर्णालीको विकास र समृद्धिका लागि सूचना र प्रविधिलाई आत्मसात् गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । कर्णालीमा ६० प्रतिशतभन्दा माथि अधिृकतस्तरका कर्मचारी नभएको बताउँदै मुख्यमन्त्री शर्माले राज्य कार्यमुखीभन्दा प्रक्रियामुखी हुँदा ठूला समस्या झेल्नुका साथै समय धेरै खेर गएको उल्लेख गरे । कर्णालीले अरुभन्दा बढी कुद्नु पर्ने भएकाले प्रविधिलाई पछ्याउनु अनिवार्य शर्त बनेको उनको भनाइ थियो ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कन्क्लेभले यहाँको वास्तविक छायाँ देखाएको बताए । उनले कर्णाली प्रदेश सरकारको आफ्नै वेबसाइट हुने र त्यसले सबैखाले क्रियाकलापको डिजिटल तथ्याङ्क राख्ने जनाए । एकीकृत सूचना प्रणाली, डिजिटल सुशासन, विद्युत् ऊर्जाको भरपर्दो व्यवस्था र दक्ष जनशक्ति उत्पादनका लागि आइटी कलेज स्थापनामा विशेष पहल गर्ने जनाउँदै आइटी उद्योगको विकास तथा पाँच स्टार्टअप र इनोभेसनका लागि छात्रवृत्तिको व्यवस्था गरिने उनको भनाइ थियो ।
मन्त्री जिसीले कर्णाली प्रदेशकै एक महत्त्वपूर्ण प्रविधि सम्मेलनमा नीति, नियम, सञ्चार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युत्, सुशासन, विपद् व्यवस्थापन, अर्थतन्त्र, नेतृत्व, स्टार्टअप र उद्यमीका विषयमा नीतिगत तहमा छलफल भएको र यसले सरकारलाई आगामी नीति तथा कानुन तर्जुमामा सहयोग पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्