जनकपुरधाम । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीति र प्रक्रिया अङ्गीकार गरे मात्रै अर्थतन्त्र सुधार हुँदै जाने बताए ।
“एमालले अर्थमन्त्रालयको जिम्मा लिएका समयमा ठीक नीति र प्रक्रिया अङ्गीकार गरेकाले अथर्गतन्त्र सुधार भएको देखिन्थ्यो । अहिले त्यो अवस्था छैन । अर्थतन्त्रका सबै सूचक समस्यामा छन्”, पौडेलले भने । पूर्वअर्थमन्त्रीसमेत रहेका उनले मुलुकका समस्या समाधान र जनहितका लागि आफूहरू सबै दलसँग सहकार्यका लागि तयार रहेको बताए ।
उपाध्यक्ष पौडेलले लेनदेनका आधारमा बनेको वर्तमान सत्तागठबन्धन आफूभित्रका समस्याका कारण लामो समय टिक्ने कुनै आधार नभएको बताए । सत्ता र शक्तिका लागि एमालेलाई कुनै चिन्ता नभएको भन्दै जनहितका लागि सदैव सरोकार राख्ने बताए ।
“हाल देखिएका समस्या समाधान गर्न एमाले सबै पार्टीसँग सहकार्य गर्न तयार छ । पद र सत्तालाई हामीले प्राथमिकतामा राखेका छैनौँ”, पौडेलले सञ्चारकर्मीसँग भने ।
अध्यक्षका लागि बनाइएको माला पौडेललाई
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम थियो । उनको स्वागतका लागि दुई सय किलोको माला उनेर राखेको थियो ।
अध्यक्ष ओली यहाँ नआएर उपाध्यक्ष पौडेल आउने कार्यक्रम तय भएपछि सोही मालाले उपाध्यक्ष पौडेललाई स्वागत गरिएको ९नेकपा० एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । एमाले जनकपुरधाम उपमहानगर कमिटीले माला तयार गरेको थियो ।
“अध्यक्ष कमरेड आउने भनेपछि हामीले माला उनेका थियौँ । मौसम खराबीका कारण आउनसक्नु भएन् । उनको सट्टमा उपाध्यक्ष पौडेललाई लगाइदियौँ”, नगर अध्यक्ष भण्डारीले भने । फागुन १४ गतेदेखि सुरूभएको प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको आज समापन हुँदैछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्