Ads

कलाकारको हौसला बढाउन थप कार्यक्रम ल्याउँछौँ : मुख्यमन्त्री शाह


कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले कलाकारको हौसला बढाउन थप कार्यक्रम ल्याउने बताउनुभएको छ । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ को आइतबार उद्घाटनमा उनले प्रदेश सरकारले आगामी दिनमा कलाकारलाई थप हौसला प्रदान गर्ने बताए ।

“यहाँ ललितकलासँग जोडिएका र कलाकारले आफैँ सिर्जना गरेका कला अवलोकन गर्न पाइयो । यस्ता क्षमतावान् कलाकारलाई प्रदेश सरकारले सधैँ उच्च सम्मान गर्नेछ”, मुख्यमन्त्री शाहले थपे, “कलाकारलाई हौसला प्रदान गर्ने सन्दर्भमा हाम्रा गतिविधि भोलिका दिनमा तपाईंहरुका साथमा रहनेछन् । यहाँको कला संस्कृति संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकारले थप कार्यक्रम ल्याउने छ ।”

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान ऐन बन्ने क्रममा रहेको बताउँदै उहाँले विभिन्न विधासँग जोडिएका कुराहरु ऐनमा समेटिने उल्लेख गरे । उनले भने, “केन्द्रमा भएजस्तो अलग–अलग विधाका प्रतिष्ठान बनाउन सक्ने अवस्था छैन । तर पनि प्रज्ञा–प्रतिष्ठा ऐन बनाउँदा कस्तो बनाउँदा राम्रो हुन्छ । हाम्रो क्षमता र आवश्यकतालाई हेरेर कसरी अगाडि जाँदा राम्रो हुन्छ । सबैको सल्लाहको अपेक्षा गरेका छौँ ।”

उनले सबैले अपनत्व महसुस गर्ने प्रज्ञा–प्रतिष्ठानको ऐन बनोस् भन्ने मेरो चाहना रहेको भन्दै त्यसका लागि सबैको सल्लाह र सुझाव आवश्यक भएको बताए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालील अनुसन्धान, सिर्जना तथा सम्मान गर्ने क्रममा प्रदेशस्तरमा ललितकला प्रदर्शनी गरिएको बताए । उनले भने, “भौतिक संरचनासँगै सांस्कृतिक विषयलाई पनि विकासमा जोडेर लैजानुपर्छ भन्ने उद्देश्यले दुर्गम क्षेत्रका प्रतिभालाई प्रष्फुटन गर्न प्रदेशस्तरमा कार्यक्रम गरेका हौँ ।”

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले प्रतिष्ठानमार्फत यहाँको भाषा, कला, साहित्य, संस्कृति, पुरातत्व, इतिहास, दर्शनलाई उजागर गर्न लागिएको बताए । प्रदेशमा पहिलोपटक गर्न लागिएको प्रादेशिक ललितकला प्रदर्शनीमा स्थानीय हस्तकला, चित्रकला, मूर्तिकला, वास्तुकलासम्बन्धी सिर्जना समावेश गरिएको छ । प्रदर्शनी यही फागुन २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू