काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । पछिल्लो समय गठबन्धनभित्र खटपट भएका समाचारहरू सार्वजनिक भइरहेका बेला गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे हाे ।
नेपाली कांग्रेसको महासमितिको बैठकपछि सत्ता गठबन्धनमा थप चिसोपना आएको चर्चाका बीच बस्न लागेको गठबन्धनको बैठकलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ। कांग्रेस महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमाथि माओवादीको असन्तुष्ट छ।
उपसभापति खड्काले माओवादीको सशस्त्र युद्धलाई औचित्यहीन टिप्पणी गरेका थिए भने महामन्त्री थापाले निर्वाचनमा गठबन्धन नगर्ने उल्लेख गरेका थिए । यसैगरी कांग्रेसभित्र धर्म निरपेक्षताको विरुद्धमा पनि माहौल बढ्दै गएकाले यसबाट माओवादी झनै झस्किएको छ ।
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले कांग्रेससँग गम्भीर छलफल गर्ने प्रतिक्रिया दिएका छन् । सोमबारको गठबन्धन बैठकको तयारीका लागि माओवादी र कांग्रेसले आ-आफ्नै तयारी पनि गरेको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्