काठमाडौं । नेकपा एमाले र उसका भातृ संगठनहरुले आज सुखानी स्मृति दिवस मनाउँदै छन् । आज झापाको सुखानीमा नेकपा एमालेले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँचजना नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो । सोही दिनको सम्झनामा झापा विद्रोहबाट उदाएको एमालेले सुखानी स्मृति दिवस मनाउने गरेको छ ।
तत्कालीन भूमिगत कम्युनिष्ट पार्टीको झापास्थित ‘मेची– कोशी कोअर्डिनेशन कमिटी’ले २०२८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको थियो । मोर्चामा संलग्न रहेको आरोपमा पक्राउ परी कारागार लगिएका पाँच योद्धालाई सुखानीको जङ्गलमा लगेर हत्या गरिएको थियो ।
सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ । यहाँ सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले नमूना सामुदायिक वन क्षेत्रभित्र पाँच शहीदको पूर्ण कदको शालिक राखेपछि हरेक वर्ष झापा विद्रोहका योद्धालाई सम्झना गर्दै विभिन्न कार्यक्रम हुँदै आएको छ ।
पाँच योद्धाको हत्या गरिएकै स्थानमा अहिले शहीदकै सङ्ख्याका पाँच वटा रुखहरु सँगै जोडिएर हुर्केका छन् भने घटनास्थललाई शहीद स्मारकका नाममा संरक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्