काठमाडौं । शिवरात्रीको आगमनसँगै पाशुपत क्षेत्रमा चहल पहल बढेको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सबै तयारी पूरा भएको जनाएको छ ।
कोषले पत्रकार सम्मेलन गरी शिवरात्रिका दिन दर्शनार्थीलाई सहज र सुरक्षित तरिकाले छिटो दर्शनको व्यवस्था मिलाइएको जनाएको छ ।
महाशिवरात्रिमा दर्शनको व्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न आठवटा समिति गठन गरिएको कोषका सदस्यसमेत रहेका कोषाध्यक्ष बाबुशरण सुवेदीले जानकारी दिए । पशुपतिनाथको दर्शनका लागि चारै ढोकाबाट लाइनको व्यवस्था गरिएको छ । शिवरात्रीका दिन यसपालि करिब १० लाखले दर्शन गर्ने कोषको अनुमान छ ।
मेलाका लागि स्काउटसहित ६ हजार स्वयंसेवक परिचालन गरिनेछ । स्वास्थ्य शिविर, आवास तथा भोजनको निस्शुल्क व्यवस्था गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि तिलगंगा, कोषको कार्यालय, गौशाला प्रहरी, सिफल चौर, गुहेश्वरी गरी पाँच स्थानमा पार्किङको व्यवस्था गरिएको कोषाध्यक्ष सुवेदीले जानकारी दिए ।
महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रमा मदिरा तथा नशालु पदार्थहरुको बिक्री(वितरणमा रोक लगाइएको छ । यसपालि दर्शनका लागि कुनै पनि पासको व्यवस्था भने गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्