एजेन्सी, थाइल्यान्डमा वायु प्रदूषणजन्य रोग बढ्न थालेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०२४ को शुरुवातमा प्रदूषणजन्य रोगका घटनामा वृद्धि भएको बीबीसीले जनाएको छ ।
सन् २०२३ को पहिलो नौ हप्ताकाे तथ्याङ्कमा १३ लाख जना नागरिकले वायु प्रदूषणजन्य रोगको उपचार गराएकामा २०२४ को यही अवधिमा यो सङ्ख्या बढेर १६ लाख जना पुगेको छ । समग्रमा सन् २०२३ मा थाइल्यान्डका एक करोड जनाभन्दा बढी नागरिकले वायु प्रदूषणसँग सम्बन्धित रोगको उपचार गराएका खबरमा उल्लेख छ ।
थाइल्यान्डकाे जनसङ्ख्या झन्डै सात करोड २० लाख जना छ । त्यहाँको राष्ट्रिय आर्थिक तथा सामाजिक विकास परिषद्को तथ्याङ्कअनुसार थाइल्यान्डकाे वायुको गुणस्तर दिनप्रतिदिन बिग्रँदै गएको छ । विशेषगरी उत्तरी थाइल्यान्डमा वर्षको शुरुदेखि फराकिला जग्गाजमिन र जङ्गलमा लागेको आगोका कारण हानिकारक धुवाँ निस्कन थालेको थियो ।
प्रतिक्रिया दिनुहोस्