काठमाडाैँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतको अपमान गरेको र कांग्रेसमाथि विश्वासघात गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पूर्व समझदारीविरुद्ध हुने गरी प्रधानमन्त्रीले अराजनीतिक कदम चालेको बताएका हुन् ।
‘प्रतिवद्धता पूरा गर्छौं भनेर जनताकाबीच कसम आएका थियौं । सरकार निर्माण गर्दा निरन्तरता दिने गरी अगाडि बढ्यौं । कांग्रेसले गठबन्धन दलका मान्यता, सहमतिलाई निष्ठाको साथ पालना गरेका थियौं । तर, पछिल्लो समयको घटना गठबन्धनको मूल्यमान्यता प्रतिवद्धता एकातिर भए पनि अविश्वास भएर घटना अगाडि बढे’ लेखकले भने, ‘प्रचण्डजीले गठबन्धनको मूल्य मान्यतालाई भत्काएर एकतर्फीरुपले गठबन्धन तोड्नुभयो ।
नेपाली जनताको बीच बोलेका कुराविरुद्ध यसरी कदम चाहिनु जनमतको घोर अपमान हो । किनकी हामी जनतासँग वाचा गरेका थियौं । यसैले हामीले राजनीतिक बेमाइनी हो भनेका हौं । राजनीतिक रूपले इमान नभएपछि बेइमानी भनिएको हो ।’
बसेर आपसमा गर्न सकिने संवादलाई समेत टारेर प्रधानमन्त्रीले कांग्रेसलाई कपोलकल्पित आरोप लगाएको लेखकले बताए ।
यद्यपि व्यक्तिगत रूपमा प्रधानमन्त्रीसँग कांग्रेस नराम्रो नभएको उनले बताए । अब सशक्त प्रतिपक्षी भएर कांग्रेस बस्ने उनले बताए । कांग्रेसले राम्रैसँग रचनात्मक हुने गरी संसदमा उपस्थिति देखाउने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्