Ads

को बन्ला राष्ट्रिय सभा अध्यक्ष ?


काठमाडौ\ राष्ट्रिय सभा अध्यक्ष पदका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ । मतदान भने फागुन २९ गते मङ्गलबार हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालका अनुसार दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गर्दा फागुन २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको हो ।

उनको अध्यक्षतामा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल भएको थियो । समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य छन् ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा फागुन २९ गते अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको जानकारी दिए । यसअघि राष्ट्रिय सभाले आफ्नो सम्भावित कार्यतालिका सार्वजनिक गर्दा फागुन २९ गते अध्यक्षको निर्वाचन हुने उल्लेख गरेको थियो ।

फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको छवर्षे पदावधि सम्पन्न भएको थियो । सोसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएकाले राष्ट्रिय सभाले अध्यक्ष चयनको प्रक्रिया अगाडि बढाउन थालेको हो । रिक्त हुन पुगेका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भएका छन् । बाँकी एक सदस्य महिला मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

कांग्रेसले  उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज विहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय गरेको हो ।

उम्मेदवार भने राष्ट्रिय सभाका सदस्यहरूको बैठकपछि तय गरिने जनाइएको छ । आफ्ना उम्मेदवारप्रति समर्थन जुटाउन अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय भएको पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू