Ads

मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित


काठमाडौँ । मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङ्कङसँग पराजित भएको छ । हङ्कङले नेपाललाई ७३ रनले पराजित गरेको हो । हङ्कङमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै हङ्कङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय १२ रन बनायो । दुई सय १३ रनको लक्ष्य पाएको नेपालले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्यो । नेपालका लागि विनोद भण्डारीले २२ बलमा ४१ रन जोडे । कप्तान रोहितकुमार पौडेलले ३० रन र आरिफ शेखले ३८ रन बनाए ।

यसअघि हङ्कङका लागि बाबर हयातले अद्र्धशतकीय पारी खेले । उनले ४९ बलमा तीन चौका र १३ छक्काको मद्दतमा एक सय १० रन बनाए । यस्तै मार्टिन कोइत्जीले ३१ र अंशी राथले ३९ तथा अजिज खानले अविजित २१ रन बनाए । बलिङतर्फ नेपालका लागि आजैको खेलमा टी–२० क्रिकेटमा डेब्यु गरेका आकाश चन्दले तीन विकेट लिए । त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङ्कङ गएको थियो ।

नेपाल, हङकङ र पपुवा न्यूगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङ्कङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङ्कङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्यूगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल ९कप्तान०, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङ्कङ गएको हो ।

Ads

सम्बन्धित पोष्टहरू