काठमाडौं । नेपाल र हङकङबीच जारी त्रिदेशीय शृङ्खलाको पहिलो खेल वर्षाका कारण प्रभावित बनेको छ ।
हङकङस्थित मिसन रोड मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको छ ।
त्यसअघि नेपालले इनिङको पहिलो बलमै मार्टिन कोएट्जीको विकेट लिएको थियो । कोएट्जीलाई करण केसीले गुल्सनकुमार झाबाट क्याच गराएका थिए ।
आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसँग हङकङ र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन् ।
यसअघि शनिबार भएको फ्रेन्ड्सिप कपअन्तर्गतको खेलमा नेपाललाई हङकङले ७३ रनले हराएको थियो । यसै वर्षको जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाल हाल प्रतियोगिता तयारीका लागि ट्वान्टी–२० क्रिकेट शृंखलामा व्यस्त छ ।
नेपालले यसअघि घरेलु मैदानमै नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय ट्वान्टी–२० शृंखला खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस्