Ads

बाबुरामले गोरखा २ नछाड्ने,२०८४ मा चुनाव लड्ने तयारी


काठमाडाैँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले २०८४ मा हुने चुनावमा आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ बाटै लड्ने तयारी थालेका छन् ।

त्यहाँका मतदाताहरूसँग वृहत् छलफल गरेपछि आएको सुझावलाई ग्रहण गर्दै भट्टराईले गोरखा–२ बाटै चुनाव लड्ने तयारी थालेको नेसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

मतदातासँगको छलफलका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई स्वीकार गरेको उनीनिकट मानिने पाण्डेको भनाइ छ ।

‘नेसपा अध्यक्ष भट्टराई केहीअघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा– २ का मतदातासँग उहाँको वृहत् छलफल भएको थियो,’ उनले फेसबूकमा लेखेका छन्, ‘सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा–२ मा उम्मेदवार हुनु हुनेछ ।’

गोरखा–२ भट्टराईको चुनावी क्षेत्र हो । तर गत आम निर्वाचनमा भने भट्टराईले प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि त्यो क्षेत्र छोडेका थिए । उनी भने कतै उम्मेदवार बनेका थिएनन् ।

Ads

सम्बन्धित पोष्टहरू