काठमाडाैँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न नदिएको कुरामा जस्तै पछुताउनुपर्ने चेतावनी दिएका छन् ।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेलाई भित्र्याएपछि गगन थापा र रमेश लेखकलाई लिएर बालुवाटार पुगेका सिटौलाले प्रधानमन्त्रीले धोका दिएको भन्दै यसको बदला लिएरै छाड्ने शैलीमा चेतावनी दिएका हुन् ।
आफूलाई राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्षसम्म बनाउने वचन दिएर अहिले पार्टी र आफूमाथि गम्भीर धोकाधडी गरेको आरोप सिटौलाले लगाए ।
‘राष्ट्रिय सभा सदस्यमा कांग्रेसले मलाई उम्मेदवार बनाउने तयारी गरेको थिएन । हारेकालाई नबनाउने भन्ने थियो । म आफैं पनि बन्न चाहेको थिइनँ । सिटौलालाई अध्यक्ष बनाउनकै लागि ल्याउनुपर्छ भनेर तपाईं (प्रचण्ड)ले हाम्रै कांग्रेसका साथीहरूसँग पनि कुरा गर्नुभएको थियो,’ सिटौलाले प्रचण्डलाई दिएको चेतावनी उद्धृत गर्दै एक नेताले भने, ‘सिटौलाजी अध्यक्ष हुँदा संवैधानिक परिषद्मा पनि सहजता हुन्छ । म प्रधानमन्त्रीबाट हटे पनि सिटौलाजी हुँदा मलाई र भर विश्वास हुन्छ भनेर उम्मेदवार बनाउन जोड गर्नुभयो । तर, आज तपाईंले हामीसँग एउटा सल्लाह गर्ने अनि अर्को कदम चाल्ने काम गरेर गम्भीर धोकाधडी गर्नुभयो । यो धोकाधडी कांग्रेसलाई मात्रै भएको छैन, म माथि पनि विश्वासघात गर्नुभयो । यो विषय यत्तिकै सकिन्छ भनेर नसोच्नुहोला ।’
सिटौला कड्किएपछि प्रचण्डले पार्टीभित्रका साथीहरूको दबाबले आफू अप्ठ्यारोमा परेको बताएका थिए । पार्टीभित्रका नेताले नमानेपछि आफूले बाध्यतावश यस्तो कदम उठाउनुपरेको प्रचण्डले बताएका थिए । २०६४ सालमा गिरिजालाई राष्ट्रपति नबनाएको समयमा जस्तै यसपटक पनि प्रचण्डले पछुताउनुपर्ने चुनौती सिटौलाले दिएको एक नेता बताउँछन् ।
‘पहिले पनि विश्वास गर्दा तपाईंले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन मान्नुभएन । यसले तपाईंलाई नै पछुतो भएको छ,’ सिटौलाले चेतावनी दिँदै भने, ‘यति धोका दिएपछि सबै कुरा अब सहजै जान्छ भनेर नसोच्नुहोला । गिरिजाबाबुलाई राष्ट्रपति नबनाएकोमा जस्तै तपाईंले यसपटक पनि पछुताउनुपर्नेछ । हामी यसपटक तपाईंलाई देखाइदिन्छौं ।’
सिटौलाले फागुन १७ गते भेट्दासम्म पनि किन कुनै छनक नदिएको भन्दै प्रश्न गरेका थिए ।
‘म र पूर्ण (पूर्णबहादुर खड्का) तपाईंलाई फागुन १७ गते भेट्न आएका थियौं । हामी आफैंले बाहिर यस्ता खालका हल्ला छन् भन्दा तपाईंले केही हुँदैन, गठबन्धन निरन्तर अगाडि बढ्छ भनेर पठाउनुभयो । हामी पनि विश्वासका साथ निस्कियौं,’ सिटौलाले भने, ‘तर हामीसँग त्यस्तो भनेको तपाईं केही समययता केपी ओलीसँगको छलफलमा थिएँ बन्दै आउनुभएको छ । सञ्चारमाध्यममा समाचार आएकै थियो भनेर पन्छिनुभएको छ । हामीले तपाईंको मुखबाट सुनेपछि तपाईंलाई विश्वास गर्ने कि सञ्चारमाध्यमका समाचारमा ?’
प्रतिक्रिया दिनुहोस्