Ads

अब कसैले पनि चुनावअघि गठबन्धन गर्ने कल्पना गर्दैनन् : महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्नेबारेमा कल्पना नगर्ने बताएका छन्।

आइतबार ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा बोल्दै उनले कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताए।

उनले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाने पनि बताए। केही नेताहरु मिलेर चुनावअघि गठबन्धन गर्ने कुराको अब अन्त्य भएको उनको भनाइ थियो।

उनले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको जिकिर गरे। निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेकोमा पनि उनले जोड दिए।

उनले भने, ‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ। यसको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला। एउटा कुरा मलाई खुशी लागेको छ। यो चुनावभन्दा अघि पार्टीहरु मिलेर, चुनावमा जाने, खास त्यो पार्टीहरु मिल्ने नै होइन। नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा सुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो। थप खोक्रो बनाउँथ्यो। अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन।

किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसाबकिताब हुन्छ। यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ। नेपालको राजनीति भ्रष्टीकरण हुने जुन बाटोमा लागेको थियो, यो प्रकरणले सबैलाई सन्देश दिएको छ। यसले हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्ने कुरामा पनि लिएर जान्छ।’ महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाइएको बताए।

Ads

सम्बन्धित पोष्टहरू