काठमाडौ । हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औं ग्याल्पो ल्होसार डुक ल्हो)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछु । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार आफन्त भेटघाट र पूजाआजा गर्नुका साथै गुथुक र खाप्से जस्ता खानेकुरा खाएर विभिन्न पिकनिक तथा साँस्कृतिक कार्यक्रम गरी मनाइन्छ ।
ल्होसार जस्ता साँस्कृतिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास लिएको छु ।
नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी छ । हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरक–फरक चाडपर्व छन् । हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँ अनुसार फरक संस्कार र संस्कृति हुन्छन् ।
सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेका हाम्रा चाडपर्वले विविधताभित्रको एकता उद्घाटित हुँदै आएको छ । नेपाली चाडवाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छ । मौलिक चाडवाडको संरक्षण र संवर्द्धन गर्दै मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई प्रेरित गर्न आवश्यक छ । अन्त्यमा, ल्होसार पर्वलाई कम खर्चिलो र लोप हुन लागेका परम्परा जगेर्ना गर्दै मौलिक पर्वका रुपमा मनाउन प्रेरणा मिलोस् भन्ने कामना गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
देवराज घिमिरे
प्रतिक्रिया दिनुहोस्