Ads

अध्यक्षको निर्वाचनमा कांग्रेस पनि मैदानमै, दाहाल र शर्मा उम्मेद्वार पक्का


काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवार तय गरेका छन् । माओवादीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार बन्ने पक्का भएका छन् । यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ ।

माओवादी पदाधिकारी बैठकले दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइसमेत हुन् । उनको कार्यकाल चार वर्षको रहेको छ । २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो । उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार बन्ने सहमति छ । यसैबीच राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेसले युवराज शर्मालाई अघि सार्ने भएको छ । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आइतबार साँझ बसेको संसदीय दल कार्यसमिति बैठकले शर्मालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै उक्त पद रिक्त छ । राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि सोमबार मनोनयन दर्ताको कार्यक्रम छ भने मंगलबार मतदान हुनेछ । राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् ।

Ads

सम्बन्धित पोष्टहरू