काठमाडाैँ । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको बताएका छन् ।
नयाँ सत्ता समीकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा उपमहासचिव ज्ञवालीले कुनै पनि खालको बाह्य शक्तिको दौडधुप बिना नै नयाँ सत्ता गठबन्धन बनेको बताएका हुन् । उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रले, स्वदेशकै खेलाडीले अप्रत्याशित, आकस्मिक र अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता गठबन्धनलाई टिकाउन चुनौती रहेको स्वीकार गरे ।
उपमहासचिव ज्ञवालीले बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने दृष्टिकोण, मुलुकको भविष्यप्रतिको विश्वास र मुलुक चलाउने राज्यका सबै संयन्त्र ठूलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए ।
उपमहासचिव ज्ञवालीले कांग्रेसले देशको पक्षमा कुनै परिणाममुखी काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेसँगको सहकार्यका लागि तयार भएको बताए ।
प्रतिक्रिया दिनुहोस्