Ads

प्रधानमन्त्रीले लिखित सहमति गर्नुभयो भने मात्र राष्ट्रियसभा अध्यक्ष र विश्वासको मत दिन्छौँ


काठमाडाैँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्ताे निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए । उनले राष्ट्रियसभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले सहयोग गर्ने बताए ।

उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरूको सुनुवाइ नभए भोट हालिरहन जरुरी नरहेको बताए ।

उनले भने, ‘भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्यूले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौँ । हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रियसभामा भोट दिनसक्छौँ । र प्रतिनिधिसभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ । तर उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ ।’

उनले सरकारले अघि बढ्ने कि ढल्ने भन्ने कुरा प्रधानमन्त्री दाहालमै निर्भर रहेको बताए । ‘सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमत हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।’

Ads

सम्बन्धित पोष्टहरू