काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत छिटो स्थापनाका लागि पहल गर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा राष्ट्रिय उपभोक्ता मञ्च नेपाल र उपभोक्ता अधिकार अनुसन्धन मञ्च एवं उपभोक्ता संरक्षण मञ्च नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनले उपभोक्ता अदालतले मात्र उपभोक्ताको हित, अधिकारलाई संरक्षण गर्न सकिने बताए ।
उनले सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न आदेश दिइसकेको र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत नै बनेको कार्यदलले पनि उपभोक्ता अदालतको आवश्यकता औँल्याएकाले आफू छिटोभन्दा छिटो स्थापनाका लागि पहल गर्ने बताए ।
कानुनमन्त्री गिरीले आफू मन्त्री रहँदा नै उपभोक्ता अदालत स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले आफू मन्त्री हुँदै उपभोक्ता अदालत स्थापनाको गर्ने प्रतिवद्धता जनाए । उनले गुणस्तरहीन वस्तु र सेवाको कारणले मानवलाई हुने क्षति, मानव स्वास्थ्यमा हुने क्षति वा अन्य प्रकारले हुने नोक्सानका सवालमा नेपालमा संवेदनशील हुने गरेको नपाइएको बताए ।
उनले उपभोक्ता ठगिएका विषय सरकारको पहिलो प्राथमिकतामा नपर्दा उपभोक्ता आधारभूत रूपमा अन्यायमा परिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्