Ads

अब बहुउद्देश्यीय सहकारीको काम छैन : पूर्वअर्थमन्त्री डा. खतिवडा


काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बहुउदेश्य सहकारीहरुको काम नभएको बताएका छन्।

बिहीबार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्। एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उनको भनाइ छ। उनले बहुउदेश्य सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीहरुको अब काम नभएको दाबी गरे।

उनले अब बहुउद्देश्य सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी रहेको बताए। उनले सहकारीले अब उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्नु आवश्यक रहेको बताए। उनले पछिल्लो समय बहुउद्देश्य सहकारीका नाममा नेटवर्किङ गरेर सहकारीलाई एक किसिमको व्यवसाय मात्रै बनाएर सहकारीको अस्तित्व २०२५ मा नै सकिने बताए।

उनले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीहरु पनि डिजिटल प्रविधिमा जानुको विकल्प नभएको बताए। उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि कम हुँदै गएको भन्दै सहकारीहरुले पनि तयारी गर्न आवश्यक रहेको उल्लेख गरे।

उनले सहकारीलाई उत्पादन, वितरण, उपभोक्तासँग जोडिएका सहकारी बाहेक शाखा खोल्ने, सेवा केन्द्र खोल्ने,नेटवर्किङ चलाउने कामलाई सहकारी ऐन संशोधन गरेर सदस्य बेस, क्षेत्रगत लक्ष्य र उदेश्य सहकारी संस्था अगाडि बढाउन जरुरी रहेको बताउनु भयो। सहकारीको कारोबार डिजिटल हुनसक्यो भने पारदर्शिता कायम भई क्रमशः समस्या समाधान हुने खतिवडाले बताए।

उनले सहकारी वित्तीय कारोबार मात्रै नभई सामाजिक पुँजी निर्माण र सहकार्य भएको बताउनु भयो। उहाँले सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनुपर्ने बताए। उनले अब स्मार्ट सहकारीतर्फ अगाडि बढ्दै कारोबार पनि स्मार्ट हुनुपर्नेमा जोड दिए। उनले आगामी २०३० सम्म सबै सहकारी प्रविधि मैत्री हुने विश्वास व्यक्त गरे।

उनले भने,‘ वित्तीय कारोबार डिजिटल रुपमा हुँदै जाँदा जोखिम पनि हुँदै जान्छ। साइवर सुरक्षाको लागि पनि सहकारीहरु तयारी हुनुपर्छ। सहकारी प्रविधिमैत्री हुँदै जाँदा कसरी सदस्यहरुलाई सुरक्षित राख्न सकिन्छ भनेर जान्नुपर्छ। यस्ता कुरा गर्न सके सहकारीहरु २०३० सम्म सहकारीहरु देखिन्छन्। नभएर २०३० सम्म सहकारी भएको ठाउँमा विजनेस कम्पप्लेस छ भन्ने हुन्छ। बहुउद्देश्य सहकारी भनेको पनि काम छैन। एकल उद्देश्य लिएर बहुउदेश्य सहकारीको नाम लिएर हिँडेर जनतालाई झुक्याउनुको काम छैन।’

पूर्वअर्थमन्त्री खतिवडाले सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे। उनले सदस्यको हितमा काम नगर्ने सहकारीको भविष्य नरहेको भन्दै नाफामुखी, सदस्य र समुदाय केन्द्रित नरहेका सहकारी २०३०सम्म नरहने दाबी पनि गरे।

Ads

सम्बन्धित पोष्टहरू