काठमाडाैँ । युवा तथा खेलुकद मन्त्रालयले दशरथ रङ्गशालामा खेलकुद बाहेकका गतिविधि गर्न तत्काललाई रोक लगाएको छ।
रङ्गशाला सञ्चालमा नितिगत अन्योलता रहेको भन्दै छिट्टै नितिगत अन्त्य गर्दै दशरथ रंगशाला सहित देशका अन्य रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेकाले सो प्रकृया नटुंगिएसम्म रङ्गशालामा खेलकुद बाहेकका गतिविधि नगर्न निर्देशन दिएको हो।
मन्त्रालयले भनेको छ, ‘दशरथ रंगशाला मैदानको मर्मत नहुँदासम्म र रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी नहुँदा सम्मका लागि रङ्गशालामा खेल बाहेकका अन्य गतिविधि गर्नका लागि स्थगित गर्न परिषद्लाई निर्देशन दिईएको व्यहोरा जानकारी गराउँदछौं।’
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘फिफा विश्वकप २०२६ छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र बहराइन बीच हुने भनिएको दुवै खेल दशरथ रंगशालाको नाजुक स्थितिको कारण बहराइनमा हुने भन्ने खबर प्राप्त भएको एवम् मैदानको अवस्थाकै बीच मर्मतसंभार बिनानै निरन्तर खेलकुद लगायत अन्य गतिविधि भइरहेको तर्फ यस मन्त्रालयको ध्यानाकर्षण भएको छ।’
विज्ञप्तिमा भनिएको छ ‘घरेलु मैदानमा खेल्ने खेलाडीको चाहना र राष्ट्रिय टिमलाई घरेलु मैदानमै समर्थन गर्ने नेपाली खेलप्रेमी दर्शकको चाहना हुँदाहुँदै पनि नेपालले आफ्नो घरेलु खेल समेत बाहिरै खेल्नु पर्ने अवस्था आउनु दुःखद छ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को (झ)ले राष्ट्रिय खेलकुद परिषद्को काम, कर्तव्य र अधिकार क्षेत्र भित्र ‘खेलकुद पुर्वाधारको निर्माण, व्यवस्थापन तथा मर्मत सम्भार सम्बन्धमा स्पष्ट व्यवस्था गरेता पनि उक्त कार्य प्रभावकारी रुपमा भएको देखिएन । सोही ऐनको दफा ९ (ड) ले परिषद्लाई स्पष्ट रुपमा खेलकुद सञ्चालन तथा पूर्वाधार निर्माण सम्बन्धि मापदण्ड बनाउन सक्ने आधार दिएको छ । त्यसैगरी राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम २० (१)० ले मन्त्रालय आफैले वा परिषद् मार्फत रंगशालाको मर्मत सम्भार गर्नसक्ने आधार दिएको छ।’
विज्ञप्तीमा भनिएको छ, ‘त्यसैले उपर्युक्त कानुनी व्यवस्था अन्तर्गत रहेर राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरी नीतिगत अन्यौलताको छिट्टै अन्त्य गर्दै दशरथ रंगशाला सहित देशका अन्य रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेको सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’
ुहाम्रा राष्ट्रिय खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल प्रदर्शनका लागि शुभकामना दिन्छौं । नेपाली खेल क्षेत्रका विविध विकृतिहरुको अन्त्य गर्दै खेलाडी र खेलप्रेमी दर्शकहरुलाई आउने दिनमा घरेलु मैदानमा खेल्न पाउने अवसर नगुमाउने तर्फ सम्पूर्ण तयारी गर्ने प्रतिवद्दता जनाउँदछौ।’
प्रतिक्रिया दिनुहोस्